
काठमाडौं ।
संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदन शिक्षक महासंघले असन्तुष्टि जनाएको छ ।
गत चैत २० गते देखि काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर विद्यालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टि जनाएको हाे । आन्दोलनको मागको मर्म विपरीत शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालबाट असहमति जाहेर गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘शिक्षा उपसमितिको प्रतिवेदन’ शीर्षकमा असहमति जाहेर गर्दै लेखेका छन्, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत गठित उपसमितिले आज पेस गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो ।’
उनले अगाडी भने, ‘यसले अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी र करार, सिकाइ अनुदान, प्राविधिक धार, विेशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमति बमोजिम न्याय गरेन, आबाधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो, सरुवा झन् शिक्षक मारा भयो, अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन भएन, विभागीय कार्यवाही जस्ताको तस्तै रहो ।’
हिजो मात्रै उपसमितिले आफ्नो प्रतिवेदन मूल समिति समक्ष पेस गरेको थियो, त्यसमा आन्दोलनरत शिक्षक महासंघको पुरै असन्तुष्टि देखिएको छ ।
अध्यक्ष सुबेदी अगाडी लेख्छन्, ‘बाल कक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन, सबैलाई अन्याय गर्न खोजियो, विक्रम सम्मत २०७५, २०७८ र २०८० मा भएका सबै सहमतिलाई लत्याइयो र भर्खरै एको २०८१ ०८२ को आन्दोलनलाई पनि बिर्सिएको देखियो।’महासंघको निष्कर्षमा अध्यक्ष सुबेदीले भनेका छन्, ‘अब झन् दह्रो लडाइँ लड्नुको विकल्प छैन।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।