
काठमाडौं ।
विदेशी प्रविधि कम्पनी याङ्गो ग्रुपले काठमाडौंमा राइड सेरिङ सेवा सुरु गरेको छ । कम्पनीले स्थानीय साझेदारहरूसँगको सहकार्यमा काठमाडौंमा राइड सेवा सुरु गरेको हो ।
मंगलबारदेखि राजधानीमा परीक्षण सेवाका रूपमा सुरु भएको याङ्गोले उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चरलगायत नेपाली कम्पनीहरूसँग मिलेर सेवा विस्तार गरेको छ । कम्पनीको दाबीअनुसार काठमाडौंमा परीक्षण सेवा दिने पहिलो राइड एप याङ्गो नै हो ।
कम्पनीले यात्रुलाई स्थानीय यातायात प्रदायकहरूसँग जोड्ने उद्देश्यसहित सेवा सुरु गरेको हो । याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोका अनुसार ‘स्थानीय उद्यमीहरूसँगको सहकार्यमा आधारित व्यापार मोडेलले आर्थिक अवसरहरू सिर्जना गर्नेछ र शहरको गतिशील पूर्वाधार विकासमा योगदान पुग्नेछ ।
नेपालमा यसअघि पनि पठाओ र इन्ड्राइभलगायत विदेशी कम्पनीहरूको वर्चस्व रहेको छ । याङ्गोले आफ्नै चालक वा सवारी प्रयोग नगरी स्थानीय साझेदार चालक र ट्याक्सी व्यवसायीलाई एपमार्फत यात्रुहरूसँग जोड्नेछ । स्थानीय उद्यमी जेनिश श्रेष्ठले याङ्गोसँगको सहकार्यलाई ‘एक नयाँ कोसेढुङ्गा’को रूपमा वर्णन गर्दै भने, ‘डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापनजस्ता प्रविधिले पारदर्शिता र दक्षता दुवै बढाउँछ, जुन स्थानीय व्यवसायीका लागि गेम चेन्जर सावित हुनेछ ।’
याङ्गो एप गुगल प्ले र एप स्टोरमा निःशुल्क उपलब्ध छ । प्रयोगकर्ताले एपमा गन्तव्य राखेपछि यात्रा शुल्क स्वतः देखिनेछ । सुरुवातमा नगद भुक्तानी व्यवस्था मात्रै रहेको र पछि अनलाइन पेमेन्टको व्यवस्था समेत गरिने कम्पनीले जनाएको छ ।
यसरी, अन्तर्राष्ट्रिय कम्पनी र स्थानीय साझेदारको सहकार्यमा आधारित याङ्गोको सेवा केवल व्यवसायिक मात्र नभई रोजगारी सिर्जना र डिजिटल रूपान्तरणको दृष्टिकोणबाट पनि महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।