
दोलखा।
गैर सरकारी संस्था महासंघ (गैसस महासंघ) नेपाल दोलखाले मंगलवार सदरमुकाम चरिकोटमा नागरिक समाज, नागरिक संघ– संगठनको अवस्था। समस्या, चुनौती र सुझाव विषयक नागरिक विमर्श कार्यक्रम आयोजना गरेको छ ।
पछिल्लो समय दोलखामा नागरिक समाजको भूमिका कम्जोर बन्दै गएको परिप्रेक्षमा विगतको समिक्षा तथा आगामी कार्ययोजना सहित नागरिक समाज एवम् नागरिक संघ– संस्थाको भूमिका खोज्ने अभियान अन्तर्गत नागरिक विमर्श कार्यक्रम आयोजना गरिएको गैसस महासंघ नेपाल दोलखाका अध्यक्ष नेत्र मोक्तानले बताए ।
कार्यक्रममा नागरिक समाजको विगतको भूमिका र वर्तमान अवस्थाको बारेमा नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले जानकारी गराएका थिए भने संघ– संस्थाको भूमिका तथा महत्वको बारेमा गैसस महासंघ दोलखाका पूर्व अध्यक्ष पुरुषार्थ श्रेष्ठले जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरूले दोलखाको विकास– निर्माणको अवस्था, सार्वजनिक यातायातको अवस्था, गैसस तथा नागरिक समाजको भूमिका, कार्यालय तथा स्थानीय तहले प्रवाह गर्ने सेवा आदिको विषयमा जिज्ञासा राख्नु भएको थियो ।
गैसस महासंघ दोलखाका अध्यक्ष नेत्र मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, नेकपा एमाले भीमेश्वर नगर कमिटी अध्यक्ष भोला खतिवडा, दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेती, सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका पूर्व अध्यक्ष जगन्नाथ वस्नेत, कानुन व्यवसायी देवराम बुढाथोकी, गैसस महासंघ दोलखाका सचिव श्याम दहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।