
उदयपुर ।
सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएपछि चौदण्डीगढी नगरपालिकाले उच्च सतर्कता अपनाएको छ । नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै बंगुर तथा बंगुरजन्य उत्पादनको ओसारप्रसारमा कडाई गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत काजीमान राईद्वारा जारी सूचनामा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरले बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिवर प्रमाणित गरिसकेको उल्लेख छ । यसका साथै, स्थानीय हाटबजारमा बराहक्षेत्रबाट बंगुरका पाठापाठी बिक्रीका लागि आउने गरेको निवेदन परेपछि रोगको फैलावट रोक्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको सूचनामा जनाइएको छ ।
सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि अन्य पालिकाबाट बंगुरका पाठापाठी, वीर्य वा भुनी ओसार प्रसारमा पूर्ण रोक लगाइएको नगरपालिकाले सूचना मार्फत जनाएको छ ।
यदि बंगुरका पाठापाठी, वीर्य वा भुनी अन्य पालिकामा लैजानुपरेमा अनिवार्य रूपमा पशु स्वास्थ्य जाँच प्रमाणपत्र लिएर मात्र लैजान हुन सम्पूर्णलाई आग्रह गरिएको छ ।
नगरपालिकाले अफ्रिकन स्वाइन फिवरको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न र यसलाई नगरपालिका भित्र फैलिन नदिनका लागि चालिएको बताएको छ । यस रोगले बंगुरपालन व्यवसायमा ठूलो क्षति पु¥याउन सक्ने भएकाले सम्पूर्ण बंगुरपालक किसान तथा सरोकारवालाहरूलाई नगरपालिकाको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।