दोलखा।
सानै उमेरदेखि कपिका खाली पानाहरुमा चित्र कोरेर रमाउँदा– रमाउँदै कुनैदिन सफल व्यवसायीक चित्रकार बन्छु भन्ने परिकल्पना विक्रम तमाङले कहिल्यै गरेनन् । तर उनलाई समयले रङ्ग र कुचीसँग खेलाउँदै– खेलाउँदै सफल चित्रकार बनाई दिएको छ ।
दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर– ६ नाम्दुका स्थायीवासी बिक्रमले चित्रकोर्न थालेको बिस वर्ष भन्दा बढी भईसकेको छ । अहिले उनी गर्वका साथ भन्छन्– नेपालको अधिकांश जिल्ला र राजधानीका रेष्टुरेन्टका भित्ताहरुमा मैले कोरेको चित्र नभएका कमै होलान् । पाँचतारे होटल र सहरका भित्ताहरुमा पनि चित्र कोर्न भ्याएको छु ।
काठमाडौँको सुनधारा लगायतका ठाउँका भित्ताहरु र दोलखा सदरमुकाम चरिकोटको चोकका भित्ताहरुमा अहिले विक्रमको चित्रकलाले सौन्दर्य दिईरहेको छ ।
नाम्दुको बैतेश्वर माविमा कक्षा पाँचमा पढ्दै गर्दा २०५५ सालमा रेडक्रम र मित्सुविसी संस्थाले देशभरी चित्रकला प्रतिस्पर्धा गराएको थियो । दोलखा जिल्लाबाट छनौट भएका विक्रम त्यो प्रतिस्प्रर्धामा देशभरीबाट तेस्रो भए । त्यहीबाट उनको चित्रकलाको रुचि व्यवसायीक बाटोतिर अघिबढ्यो । १० बर्षको उमेरमा देशभरी तेस्रो भएर तीन हजार पुरस्कार थापेका विक्रम त्यसपछि भने चित्रकलाबाट कहिल्यै अलग हुन सकेनन् । उनलाई अहिले पनि याद छ त्यो तीन हजार रुपैयाबाट बुबाले खसी– बाख्रा सहित घरलाई आवश्यक पर्ने धेरै कुरा किन्नु भएको थियो रे !
२०६५ सालमा एसएलसी परीक्षा दिएपछि उनी चित्रकला अध्ययनकै लागि काठमाडौँको ललितकला क्याम्पस भर्ना भए र त्यहीबाट चित्रकलामा स्नातक सके । देशभरका ६ सयभन्दा बढी रेष्टुरेन्टमा चित्र कोरेका बिक्रमले सयौ क्यान्भासमा हिमाल, पहाड, जनजीवन र ग्रामीण परिवेशका चित्रहरु कोरेका छन् । उनले बनाएका क्यान्भासका चित्रहरु अमेरीका, बेलायत, नर्वे, फिनल्याण्ड लगायत विश्वका धेरै मुलुकहरुमा पुगेका छन् ।
२०८० सालमा फिनल्याण्डको फिस्कार गाँउमा चित्रकला वर्कशपको लागि पुगेका बिक्रमले फिनल्याण्डका राष्ट्रपति पेकाहविस्तोको समेत चित्र बनाएका छन् । उनले बनाएको चित्र एक लाख पचाँस हजार रुपैयासम्ममा बिक्रि भएको छ । विशेष गरी विदेशीहरुले हिमाल, ग्रामीण वस्ति र ग्रामीण जिवनशैलीका चित्रकलाहरु रुचाउने गरेको विक्रमको अनुभव छ । नेपालका विभिन्न हिमाल र ग्रामीण भेगमा पुगेर फर्किएका विदेशीहरुले त्यो ठाउँका चित्र पाएभने जतिसुकै मूल्य तिरेर पनि किन्ने गरेको विक्रम बताउँछन् ।
विगतमा चित्रकलालाई व्यवसाय बनाउन कठिन हुनेगरेको भएपनि अहिले दक्ष चित्रकारलाई कामको समस्या नहुने उनको भनाई छ । उनले सञ्चालन गरेको विक्रम हेन्डिक्राफ्ट एण्ड आर्ट ग्यालरी अन्तर्गत रहेर २०-२५ जना चित्रकारहरु काम गरिरहेका छन् । उनीहरुको दक्षता अनुसार दैनिक पाँच हजारसम्म कमाई गर्ने विक्रम बताउँछन् ।
चित्रकलामा रमाउदाको एउटा घट्नाले उनलाई अहिले पनि रोमाञ्चित गरिरहन्छ । त्यस्तै ७-८ वर्ष अघि उनले काठमाडौँको बौद्धमा सञ्चालन गरेको बौद्ध ग्यालरीमा मुस्ताङको एकजना ज्येष्ठ नागरिक घोडा चढेर मुस्कुराई रहेको चित्र बनाएका थिए । कतै फोटो भेटर राम्रो लागेकोले बनाएको त्यो चित्र नियाल्दै एकदिन मुस्ताङका एकजनाले ती ज्येष्ठ नागरिकको मृत्यु भएको भन्दै थकथक गरेको उनले सुने । उनलाई त्यो दिन साह्रै नरमाइलो लागिरह्यो ।
त्यसको केहीदिन पछि उनै ज्येष्ठ नागरिकको छोराले आफूले पहिलेनै चित्र बनाई सकेको फोटो ल्याएर चित्र बनाईदिन अनुरोध गर्दा उनलाई गज्जब आनन्दित तुल्यायो । उनले यो चित्र पहिलेनै बनाइसकेको बताएपछि ज्येष्ठ नागरिकको छोराले ५० हजार रुपैयाँ दिएर उक्त चित्र लगेका थिए ।
विक्रम तमाङले कोरेका चित्रहरु:










यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।