
पनौती, काभ्रे ।
पनौती नगरपालिका पनि अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा लागू भएको नगरपालिका घोषणा हुने भएको छ । यस अघि जिल्लाको बेथानचोक गाउँपालिकालाई अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा लागू भएको पालिका घोषणा गरिसकेको छ ।
संविधानमा मौलिक हकको रुपमा रहेको आधारभूत शिक्षामा पहुँच कार्यान्वयन गर्न नगरपालिकाले वडा स्तरको सर्वेक्षण गरि अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा लागु भएको पालिका घोषणा गर्न लागेको हो । १२ वटा वडा रहेको पनौतीमा पहिला वडा स्तरमा घोषणा गरि नगरपालिकाले असारको पहिलो साता नगरलाई घोषणा गर्ने तयारी गरेको छ ।
पनौती नगरका शिक्षा शाखाका निर्देशक प्रणयराज न्यौपानेका अनुसार नगरभरि विद्यालय वाहिर रहेका १८ वर्ष सम्मको उमेर समूहका २० जना मध्य ११ जना क वर्गका अपाङ्ग रहेका छन् । बाकी ९ जना पनि नगर बाहिरका तथा उमेर समूह नमिलेका छन् । उनीहरुलाई पनि विद्यालयमा भर्ना गर्ने प्रयत्न भैरहेको छ । ९९ प्रतिशत भर्ना भएमा पनि अनिवार्य तथा नि: शुल्क आधारभूत शिक्षा लागु भएको पालिका घोषणा गर्न मिल्छ । यो वर्ष जिल्लामा पनौतीका साथै महाभारत र भुम्लु गाउँपालिका पनि अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा लागु भएको पालिका घोषणा हुदैछ ।
शुक्रवार पनौती नगरपालिका शिक्षा शाखाले आयोजना गरेको अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी नगर स्तरीय सरोकारवाला सचेतना कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले नगरले शिक्षा क्षेत्रमा बजेट विनियोजनमा कन्जुसाई नगरेको बताएका थिए । उनले शिक्षामा सबै नगरले नियन्त्रणमा लिँदा द्वन्द्व सृजना हुने र नियन्त्रण नलिँदा बेथिति उत्पन्न हुने तितो यथार्थ रहेको भन्दै वडाबाट अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा लागु भएको पालिका घोषणा गर्दै नगर घोषणा गरिने बताएका थिए ।
पछिल्लो समय सामुदायीक विद्यालयमा विद्यार्थीलाई विद्यालयमा ल्याउने र टिकाउने कुरामा चुनौती थपिँदै गएको सरोकारवालाहरुको भनाई रहेको छ । विद्यालय शिक्षा नि:शुल्क भने पनि केही सामुदायिक विद्यालयहरुले चन्दा, सहयोग, गाडी भाडा जस्ता विविध विषमा मोटो रहम असुलिरहेको सन्दर्भ उठाएका थिए । अनिवार्य तथा नि: शुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ अनुसार सार्वजनिक विद्यलयले माध्यामिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, परीक्षा शुल्क, मासिक पढाई शुल्क र पाठ्यपुस्तक बापतको शुल्क निःशुल्क गर्नुपर्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।