
दोलखा।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरुको बीचमा जनताको लागि प्रतिस्पर्धा हुने गरेको बताएका छन् । उनले राजनीतिक दल र नेताहरु जनताप्रति उत्तरदायी र जबाफदेही हुने भएकोले प्रतिस्पर्धा पनि जनताकै लागि हुने गरेको बताए ।
दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु भएको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन गर्दै नेता सिटौलाले दलका नेताहरु, जनप्रतिनिधिहरुले जनता प्रति समर्पित भएर जति काम गर्न सक्यो त्यतिनै जनता अघि बढ्न सक्ने बताए ।
नेता सिटौलाले देशको अर्थतन्त्र चाहेजस्तो बलियो हुन नसकेको भएपनि यहि अर्थतन्त्रको माध्यमबाट धेरै काम गर्न सकिएको बताए ।
नेपालले खेलकुद जगतमा राष्ट्रिय– अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्दै गएको उल्लेख गर्दै संघिय सरकारले पनि खेलकुदको बजेटलाई डबल गरेको बताए ।
कार्यक्रममा मन्तवय व्यक्त गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथामिकताका साथ अघि बढाउने उल्ले गर्दै आर्थिक बर्ष ०८२-०८३ मा खेलकुदको बजेटलाई डबल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता जीपछिरीङ लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु गरी ६ वटा विधामा खेलहरु हुने प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिए । प्रतियोगीतामा बागमती प्रदेश भित्रका १३ जिल्लाको एक सय १३ जना खेलाडिहरुको सहभागिता रहेको छ ।
पार्टी कार्यालय भवनको शिलान्यास
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शनिवार नै नेपाली कांग्रेस दोलखाको पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । नेता सिटौलाले भीमेश्वर नगरपालिका वडा नम्बर– ६ स्थित चरिकोट बजारमा निर्माण हुन लागेको पार्टी भवनको शिलान्यास गरेको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले बताए ।
कार्यक्रममा कांग्रेस नेता जीपछिरङि लामा, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, दोलखाका पूर्व सभापति ताराबहादुर कोइराला, रुद्र बहादुर खड्का, नगरप्रमुख ईश्वर नारायण मानन्धर, जिल्ला नेता छवि लामा, अर्जुन शिवाकोटी, तारा खड्का लगायतको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।