
उदयपुर ।
शनिवार उदयपुरको गाईघाटबाट नेपालटार जाने मदन भण्डारी लोकमार्ग खण्डमा ३ सवारी साधन दूघर्टना हुँदा २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार तीनबटै सवारी साधन पश्चिमतिरबाट गाईघाट आउँदै गरेको अवस्थामा फरक फरक ठाउँमा दुर्घटना भएको र एक महिला तथा एक पुरुष सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक केदारमान दोङले बताएका छन् ।
सूचना अधिकारी दोङका अनुसार उदयपुरको रौतामाई गाउँपालिका वडा नं ७ मुर्कुचीबाट यात्रु लिएर गाईघाट आउँदै गरेको स १ ह २९४४ नम्बरको अटो मदन भण्डारी लोकमार्गमा आपसेआप गति अनियन्त्रित भएर पल्टिएको भएपनि घाइते वा मानवीय क्षति भएको छैन ।
यसैगरी शनिवार नै १२ बजेतिर उदयपुरगढी ७ अधेरी जोगी टोलमा नेपालटार तिरबाट गाईघाट आउँदै गरेको टिपर दुर्घटना भएको छ । प्रदेश २ —०३— ००१क— ०५५७ नम्बरको खाली टिपर दुर्घटना हुँदा चालक भेषराज मगर सामान्य घाइते भएको सूचना अधिकारी दोङले बताए ।
यसैगरी शनिवार नै नेपालतिरबाट गाईघाट आउँदै गरेको प्रदेश १— ०२— ००१ ज ४५७४ नम्बरको एक क्याबको बोलेरो त्रियुगा नगरपालिका ७ होक्सेस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटना हुँदा रमा ढुंगाना नाम गरेकी महिला सामान्य घाइते भएको र बोलेरो चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी दोङले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।