काठमाडौं ।
गणतन्त्र स्थापनाको १८औं वर्ष पूरा नहुँदै राजावादी शक्तिहरूले यस प्रणालीलाई फाल्ने उद्घोषसहित आन्दोलन चर्काएका छन् । जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा राजावादीहरू पुनः राजसंस्थाको पुनःस्थापनाका लागि सडकमा उत्रिएका छन् । उनीहरूले गणतन्त्र दिवसकै दिन काठमाडौंको मुख्य भागमा शक्ति प्रदर्शन गर्दै अब ‘राजा फर्काउने आन्दोलन’ नरोकिने घोषणा गरेका थिए ।
राजावादीहरु नारायणहिटी क्षेत्रमा आन्दोलन गर्न उद्यत भएसँगै काठमाडौं प्रशासनले कफ्र्युजस्तो निषेधाज्ञा जारी गरेको छ। यद्यपि, आन्दोलनकारीहरूले शनिवार बालुवाटारसम्म पुगेर सरकारलाई खुला चुनौती दिएका छन् । यो आन्दोलन चर्किंदै जाँदा सुरक्षा संयन्त्र सतर्क बनेको छ, तर राजनीतिक विश्लेषकहरूका अनुसार गणतन्त्रले अहिले पनि आफ्नो गहिरो सामाजिक आधार गुमाएको छैन ।
पूर्व राष्ट्रपति रामवरण यादवले गणतन्त्रको जरा त्यति कमजोर नरहेको र त्यतिकै नहल्लिने भन्दै आक्रोश पोख्नुभएको छ । पूर्व राष्ट्रपति यादवले हालै इमेज टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा बोल्दै ठूलो त्याग, बलिदान र जनताको रगतले सिँचेको गणतन्त्र त्यसै नहल्लिने दाबी गर्नुभयो । गणतन्त्रका बारेमा सामान्य विश्लेषण गर्नु ठूलो अन्याय हुने बताउँदै पूर्व राष्ट्रपति यादवले भन्नुभयो– ‘पञ्चायतकालमा भएको सफर थाहा नभएकाले गणतन्त्रलाई मजाकको विषय बनाएका छन् । हिजोको निरंकुश पञ्चायत र राजाको शासनमा हामी बोल्न सक्ने अवस्था थिएन, बीपीको नाममा वृक्षरोपण गर्दा रूख रोपेवापत हामी जेल जानुपर्ने अवस्था थियो । विद्यार्थीहरूलाई विभिन्न आरोपमा लाइन लगाएर गोली हानेर मारिन्थ्यो ।’ राजावादीहरुले अहिले फेरि मुलुकलाई त्यो अँध्यारो युगमा धकेल्न खोजेका छन्, जुन सह्य छैन ।’ यद्यपि, राजनीतिक नेतृत्व सच्चिनु पर्नेमा भने उहाँले जोड दिनुभयो । राजावादी आन्दोलन हाल काठमाडौं केन्द्रित रहेको छ ।
सामाजिक सञ्जालमा व्यापक प्रचार गरिएको आन्दोलनमा पहिलो दिन जनसहभागिता राम्रो देखिए पनि नागरिक समाज, बुद्धिजीवी, वकिल, पत्रकार, व्यवसायीलगायतका शक्तिहरूको सहभागिता भने न्यून देखिएको छ । यसअघि २०६२÷६३ को राजतन्त्र हटाउने आन्दोलनमा सबै तह र तप्काको साथ रहेको स्मरण गराउँदै विश्लेषकहरू भन्छन्– ‘विस्तारित र समावेशी आन्दोलन नभएसम्म राजतन्त्र पुनःस्थापनाको सपना पूरा हुन सक्दैन ।’यता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अर्का अध्यक्ष कमल थापा भने नयाँ शक्ति सन्तुलन र ‘जनतासँगको नयाँ समझदारी’को नाममा गणतन्त्रविरुद्धको वातावरण तयार पार्ने निरन्तर प्रयासमा छन् । लिङ्देनले हालै सम्पादकहरूसँगको भेटमा भन्नुभएको थियो– ‘गणतन्त्रवादीहरू सच्चिएनन् भने आन्दोलन उनीहरूकै लागि प्रत्यूत्पादक बन्न सक्छ ।
अब उनीहरूले नयाँ समझदारी गर्नैपर्छ, अन्यथा देश छोड्नुपर्ने स्थिति आउन सक्छ । हामी गणतन्त्र ढालेर राजतन्त्र स्थापना नगर्दासम्म आन्दोलनलाई निरन्तरता दिँदै नयाँ उचाइमा पु¥याउँछौं ।’राजनीतिक विश्लेषक प्राडा कृष्ण पोखरेलले भन्नुभयो– ‘राजतन्त्रमा फरक मत राख्नेलाई अराष्ट्रवादी भनिन्थ्यो, दमन गरिन्थ्यो । तर, गणतन्त्रमा आज राजावादीहरूले खुलेर बोल्न, प्रदर्शन गर्न पाएका छन् यही नै लोकतन्त्रको सार हो ।’ उहाँले गणतन्त्रको रक्षा गर्न सरकारमात्र होइन, जनताले पनि विवेक पु¥याउनु जरुरी भएको बताउनुभयो ।
राजवादी आन्दोलनको मुख्य नेतृत्व गरेको दल राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने आफूहरू शक्ति प्रदर्शन र शक्ति सञ्चय गर्दै क्रमशः अघि बढ्दै जाने चेतावनी दिँदै भन्नुभएको छ– ‘राजसंस्था, हिन्दुराष्ट्रको पुनस्थापना, संघीयताको खारेजी जस्ता सर्वाधिक लोकप्रिय जनताका एजेन्डा लिएर अघि बढ्ने देशभक्त शक्तिहरू कमजोर होइन झन् सबल, मजबुत र शक्तिशाली हुँदै अघि बढिरहेका छन् ।’विश्लेषकहरूको विचारमा गणतन्त्रप्रति जनताको मोह घट्दै गएको होइन, संस्थागत कमजोरी, पारदर्शिताको अभाव, कमिसनतन्त्र, नातावाद, कृपावाद, र माफियाराजका कारण निराशा बढ्दै गएको हो । यिनै कुरालाई राजावादीहरूले नाराका रूपमा प्रयोग गरिरहेका छन् । तर, साँचो समाधान जनताको अधिकार कटौती होइन, राज्यको उत्तरदायित्व र शुद्धीकरण हो ।

हाम्रो गणतन्त्रको जरा त्यति कमजोर छैन, ठूलो त्याग, बलिदान र जनताको रगतले सिँचेको गणतन्त्र त्यसै हल्लिदैन । पञ्चायतकालमा भएको सफर थाहा नभएकाले गणतन्त्रलाई मजाकको विषय बनाएका छन् । हिजो बीपीको नाममा वृक्षरोपण गर्दा रूख रोपेवापत हामी जेल जानुपर्ने अवस्था थियो । विद्यार्थीहरूलाई विभिन्न आरोपमा लाइन लगाएर गोली हानेर मारिन्थ्यो । राजावादीहरूले अहिले फेरि मुलुकलाई त्यो अँध्यारो युगमा धकेल्न खोजेका छन् , जुन सह्य छैन ।
रामवरण यादव
पूर्व राष्ट्रपति

गणतन्त्रवादीहरू सच्चिएनन् भने आन्दोलन उनीहरूकै लागि प्रत्यूत्पादक बन्न सक्छ । अब उनीहरूले राजा ल्याउने सम्बन्धमा नयाँ समझदारी गर्नैपर्छ, अन्यथा देश छोड्नुपर्ने स्थिति आउन सक्छ । हामी गणतन्त्र ढालेर राजतन्त्र स्थापना नगर्दासम्म आन्दोलनलाई निरन्तरता दिँदै नयाँ उचाइमा पु¥याउँछौं ।
राजेन्द्र लिङ्देन
अध्यक्ष, राप्रपा
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।