
काठमाडौं ।
राजधानीको शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी राजासहितको प्रजातन्त्र स्थापना गर्ने भन्दै सडकमा उत्रिएका पूर्वपञ्चहरूको आन्दोलन शनिवारसमेत जारी रह्यो ।उनीहरूको आन्दोलनका कारण अहिले सुरक्षाकर्मीमाथि चर्को दबाब परेको छ । अपराध नियन्त्रण र अन्य नियमित सुरक्षाको जिम्मेवारीमा खटिनुपर्ने सुरक्षाकर्मीसमेत आन्दोलन नियन्त्रणमा खटिनुपरेकाले राजधानीमा शान्ति सुरक्षाको अवस्था कमजोर भएको सुरक्षा अधिकारीहरू बताउँछन् ।
काठमाडौं उपत्यकाको विभिन्न युनिटमा खटिएका सुरक्षाकर्मी आन्दोलनको चपेटामा परेका छन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार आन्दोलन शान्तिपूर्ण हुने भनिएको थियो, तर अहिलेको नाराबाजी र भिडन्तको मनस्थिति हेर्दा जुनसुकै बेला हिंसात्मक मोड लिन सक्ने देखिएको छ । सुरक्षाकर्मी आन्दोलन नियन्त्रणमा खटिएपछि अपराध नियन्त्रण, जनजीवनको सुरक्षा र आपराधिक घटनाहरूको अनुसन्धानमा असर परेको छ ।पूर्वपञ्चहरूले गणतन्त्रविरुद्ध सडक तताउँदै ‘राजा आऊ, देश बचाऊ’को नारासहित प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले सामाजिक सञ्जालमार्फत पनि आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका छन् । प्रदर्शनकारीहरूले गणतन्त्रलाई असफल प्रयोगको संज्ञा दिँदै विकल्पको खोजी गरिनुपर्ने माग गरिरहेका छन् ।तर, यति बेला प्रहरी प्रशासनको चिन्ता भने आन्दोलनको सम्भावित उग्र रूपले राजधानीमा हुने हिंसात्मक घटनाहरूमा केन्द्रित देखिन्छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार आन्दोलन शान्तिपूर्ण रहने भनिए पनि परिस्थिति हेर्दा उत्तेजनापूर्ण नाराबाजी र भिडन्तका आशंका बढेका छन् ।
राजधानीमा दिनहुँ प्रदर्शन हुँदा सुरक्षाका लागि विशेष योजना बनाउनुपरेको छ ।पूर्वपञ्चहरूको आन्दोलनको पृष्ठभूमि केलाउँदा उनीहरूले २०६२÷०६३ को जनआन्दोलनबाट हटाइएको राजसंस्थालाई पुनःस्थापना गर्ने राजनीतिक आकांक्षा बोकेको देखिन्छ । तर, संविधानमै राजतन्त्रको पुनःस्थापनाको कुनै आधार नरहेको र संघीय गणतन्त्रको मर्मविपरीत यस्तो माग सम्भव नहुने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।
प्राध्यापक तथा विश्लेषक डा. गोविन्द पोखरेल भन्नुहुन्छ– ‘पूर्वपञ्चहरूको आन्दोलन भावनात्मक र राजनीतिक असन्तुष्टिको परिणाम हो । तर, संविधान संशोधनमार्फत मात्र व्यवस्था परिवर्तन सम्भव हुन्छ । अहिलेको राजनीतिक शक्ति सन्तुलनमा त्यो सम्भव छैन ।’ राजनीतिक विश्लेषकहरूको विचारमा आन्दोलनले गणतन्त्रविरोधी भावनालाई सतहमा ल्याए पनि यो आन्दोलनबाट राजतन्त्र फर्काउने सम्भावना देखिँदैन । बरु यस्ता आन्दोलनले अस्थिरता बढाउने, राजनीतिक द्वन्द्व चर्काउने र सर्वसाधारण नागरिकको जनजीवन कष्टकर बनाउने सम्भावना बढी छ ।
यसैबीच, आन्दोलनका कारण काठमाडौंको जनजीवन प्रभावित भइरहेको छ । कामकाजी मानिसहरू, विद्यार्थी र सर्वसाधारण दैनिकजसो जाम र सुरक्षाकर्मीहरूको चेकिङका कारण हैरानीमा परेका छन् । आन्दोलनका कारण ट्राफिक व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा पूर्वपञ्चहरुको आन्दोलनले अपेक्षाकृत रूपमा शान्तिपूर्ण रूपमा अघि बढ्ने कि, राजधानीमा शान्ति सुरक्षाको चुनौती थप गहिराउने भन्ने प्रश्न सुरक्षा निकायका लागि प्रमुख चासो बनेको छ । विशेष सुरक्षा रणनीति बनाउँदै प्रहरीले आन्दोलनको निगरानी गरिरहेको भए पनि राजधानीको शान्ति सुरक्षामा यस्तो असहज अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताइएको छ । राजनीतिक समाधान खोज्ने प्रयास गर्नुको सट्टा सडकमा उत्रिएर गणतन्त्रको विकल्प खोज्ने शैलीले नेपाली राजनीति थप अस्थिर बनाउने खतरा बढ्दै गएको राजनीतिक विश्लेषक मणिभद्र शर्मा बताउनुहुन्छ ।
राजासहितको प्रजातन्त्र माग
‘राजासहितको प्रजातन्त्र नै हाम्रो अस्तित्वको ग्यारेन्टी हो’ भन्दै पूर्वपञ्चहरूले रत्नपार्कमा आयोजना गरेको विरोध सभामा आफ्नो धारणा राखेका छन् । उनीहरूले वर्तमान व्यवस्था असफल भएको र मुलुकमा आर्थिक, सामाजिक, राजनीतिक संकट बढ्दै गएको भन्दै ‘राजासहितको प्रजातन्त्र’ नै विकल्प भएको जिकिर गरेका छन् ।कार्यक्रममा सहभागी भएका पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले भन्नुभयो– ‘जनताको धार्मिक आस्था, राष्ट्रियता र सामाजिक सद्भाव जोगाउन राजासहितको प्रजातन्त्र अपरिहार्य भइसकेको छ ।
गणतन्त्रले देशलाई टुक्र्याउनमात्र काम गरेको छ ।’ त्यस्तै, आन्दोलनमा सहभागी अर्का पूर्वमन्त्री डिल्लीराम थापाले भन्नुभयो– ‘राजा नभएपछि देशमा न नीति रह्यो, न नैतिकता । अहिलेको नेताहरूको स्वार्थी राजनीति देशका लागि घातक बनेको छ । हामी राजासहितको प्रजातन्त्र फर्काउनुपर्छ भन्ने आवाज जनतामाझ पु¥याउन सडकमा आएका हौं ।’आन्दोलनमा सहभागीहरूको मुख्य माग संविधान संशोधन गरी राजसंस्था पुनःस्थापना गर्नुपर्ने रहेको छ । उनीहरूले हिन्दु राष्ट्रको पहिचानसहितको राजनीतिक व्यवस्था चाहेको समेत बताएका छन् ।
कार्यक्रममा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हिन्दु राष्ट्र कायम गर’ जस्ता नाराहरु लगाएका थिए ।सुरक्षाको दृष्टिले रत्नपार्क क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको थियो भने केही स्थानमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच सामान्य धक्कामुक्की भएको थियो । गणतन्त्रवादी दलहरूले भने आन्दोलनलाई समाजमा ‘अव्यवस्था र भ्रम फैलाउने प्रयास’ भन्दै आलोचना गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।