काठमाडौं।
दक्षिण एशियामा आतंकवादको गम्भीर र रूपान्तरणशील स्वरूप तथा यसको नेपालमाथि परेको प्रत्यक्ष असरको बारेमा बोल्दै कुटनीतिज्ञहरुले नेपालले कानुनी, कूटनीतिक तथा संस्थागत रूपमा आतंकवादलाई राष्ट्रिय सुरक्षा खतरा मान्दै राष्ट्रिय सुरक्षामा रणनीतिक रूपान्तरणको आवश्यकता औंल्याए ।
सेन्टर फर सोसल इनोभेसन एण्ड फोरन पोलिसी नेपाल (सेसिफ) ले सोमबार काठमाडौंमा आयोजना गरेको “दक्षिण एशियामा आतंकवाद र नेपालमाथिको प्रभाव” विषयक गोष्ठीका सहभागीहरुले दक्षिण एशियामा जारी आतंकवादको खतरा र नेपालमा त्यसको विशेष प्रभावबारे छलफल गर्दै त्यसमा नेपालको संवेदनशीलता र प्रभावकारी प्रतिकार रणनीतिहको आवश्यकता औंल्याएका हुन् ।
पूर्वराजदूत दुर्गा भट्टराईले आतंकवाद जुन ठाउँमा भए पनि त्यो सबैका लागि खतरा हो भन्दै नेपालको प्रतिकृयात्मक नीति र अपहरणसम्बन्धी सम्झौतामा भएका असंगत व्यवहारहरुलाई सच्याउँदै लानुपर्नेमा जोड दिए ।

पूर्व परराष्ट्र मन्त्री तथा सांसद एन.पी. साउदले दक्षिण एशियाली आतंकवादले नेपालमा पनि सिधा असर पार्न सक्ने चेतावनी दिँदै भने- “अब जोखिम अरूका घरसम्म सीमित छैन, हामी पनि खुला भएका छौं” । उनले आईसी ८१४ घटनाको सन्दर्भमा नेपालले आक्रमणकारीलाई ‘आतंकवादी’ घोषणा नगरेको र सम्बन्धित देशसँग समन्वय नगरेको कमजोरीलाई उजागर गरे।
रिटायर्ड मेजर जनरल बिनोज बस्न्यातले दक्षिण एशियाली युद्धको चरित्र प्रविधि, प्रोक्सी द्वन्द्व र ठूला शक्तिहरूको प्रतिस्पर्धाबाट निर्देशित हुँदै गएको बताउँदै नेपालको आतंकवाद प्रतिकार प्रणाली अझै पनि ‘सफ्ट डिप्लोमेसी’ मा आधारित रहेको बताए। उनले नेपालले आफ्नो सुरक्षा दृष्टिकोण पुनरावलोकन गर्नुपर्ने टिप्पणी गरे ।
पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा परराष्ट्र सचिव शंकरदास बैरागीले अन्तर्राष्ट्रिय सन्धिहरूप्रति नेपालले प्रतिबद्धता जनाए पनि कार्यान्वयनको कमीले नेपालको विश्वसनीयता घटेको बताए। उनले आप्रवासन र गुप्तचर प्रणालीमा सुधारको आवश्यकता औंल्याउँदै जानकारी साझेदारी र रोकथाम क्षमतामा संस्थागत सुधार आवश्यक रहेको बताए ।
त्यसैगरी पूर्वराजदूत मधुरमण आचार्यले नेपालले क्षेत्रीय आतंकवादबारे स्पष्ट नीति लिनुपर्नेमा जोड दिंदै विशेषतः पहालगाम आक्रमण जस्ता घटनामा भारतको पक्षमा उभिएर द्विपक्षीय विश्वास निर्माणको अवसर उपयोग गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा सेसिफका कार्यकारी अध्यक्ष राजदूत विजयकान्त कर्णले दक्षिण एशियामा आतंकवादको बदलिंदो स्वरूप र नेपालमाथि त्यसले पारेको सिधा असरबारे प्रकाश पार्दै नेपाललाई आतंकवादी गतिविधिको ट्रान्जिट बिन्दुका रूपमा प्रयोग गर्ने जोखिमबारे चिन्ता व्यक्त गरे। उनले सन् १९९९ मा भएको आईसी ८१४ विमान अपहरण तथा पहलगाम आक्रमण जस्ता घटनालाई उदाहरणस्वरूप प्रस्तुत गर्दै नेपालको सुरक्षा नीति, कूटनीति,र संस्थागत तयारीमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।