
कास्की ।
गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियम र व्यवस्थापन नियमावली २०८२ बमोजिम राइड शेयरिङ सम्बन्धीको प्रावधान कार्यान्वयन एक महिनाका लागि स्थगन गरेको जनाएको छ । प्रदेश सरकारले राइड शेयरिङ र सेल्फ ड्राइभको कानुनी व्यवस्था गर्दै सुरुवात गरेको थियो । तर पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले राइड शेयरिङको विरोधमा सार्वजनिक यातायात बन्द गरेको थियो । स्थगनको निर्णयसँगै यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ भने सार्वजनिक सवारी सुचारु भएका छन् ।
गत जेठ १६ गतेदेखि आन्दोलनमा उत्रिएपछि सरकार र आन्दोलनरत पक्षबीच वार्ता भएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि राइड शेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध भई आएको प्रदेश सरकारले जनाएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकार पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरुं) लाई वार्ताका लागि पुनः आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड शेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ बमोजिम राइड शेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा अनुरोध गरिएको प्रदेश सचिव एवं वार्ता समिति संयोजक ई. कमलकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उच्च अदालत पाटनबाट २०७६ फागुन २९ गते तत्काल राइड शेयरिङ सेवालाई नरोक्न र आवश्यक कानुन बनाएर सञ्चालन गर्न दिन निर्देशनात्मक आदेश जारी भएको थियो । सर्वोच्च अदालतबाट २०७८ भदौ ३ गते पे बाइक सेवालाई नरोक्नका लागि अर्को आदेश जारी भएको थियो । त्यस्तै २०८१ असार १३ गते पठाओ वा राइड शेयरिङलाई बन्द नगर्न तत्काल कानुनी प्रबन्ध गर्नका लागि निर्देशानात्मका आदेश जारी भएको थियो ।
राइड शेयरिङ सेवामार्फत हजारौं युवाले रोजगारीको अवसर पाएको र सेवा मार्फत हजारौं युवा स्वरोजगारको अवसरसमेत सृजना भएको गण्डकी प्रदेश सरकारले जनाएको छ । सर्वोच्च अदालतकै फैसला कार्यान्वयन गर्न नेपाल सरकारबाट प्रदेश सरकारलाई लेखी आएको जनाउँदै प्रदेश सरकारले पनि हाल सञ्चालनमा रहिरहेका राइड शेयरिङ सेवालाई कानुनी व्यवस्था गरी नियमन गर्न खोजेको उल्लेख गरेको छ ।राइड शेयरिङलाई कानुनी व्यवस्था गरेसँगै सेवा शुरु भएको थियो । यद्यपि भाडाका सवारी साधन यसको विरोधमा उत्रिएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।