
काठमाडौं ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरेका व्यक्ति प्रत्यारोपणको १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेमा शिव महर्जन हुनुहुन्छ । मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने फूलमाया नेपाली जेठ १४ गते नै डिस्चार्ज भइसक्नुभएको छ ।
नेपालकै प्रत्यारोपणविद्हरूबाट उक्त कार्य सफल भएको हो । उक्त प्रत्यारोपणका नेतृत्व शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले गर्नुभएको थियो भने नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठ, युरोलोजी विभाग प्रमुख डा. दिपेश श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. आरती राई, प्याथोलोजी विभाग प्रमुख डा.सबिना श्रेष्ठ, रेडियोलोजी विभाग प्रमुख डा. कृष्ण बुढाथोकी, कार्डियोलोजी विभाग प्रमुख डा. प्रवेश न्यौपाने, तथा नर्सिङ निर्देशक पूजा कोइरालाको टोलीले उक्त कार्य सम्पन्न गरेको थियो ।
दुवै अंग प्रत्यारोपणपश्चात सकुशल डिस्चार्ज हुनुभएको प्रत्यारोपित शिव महर्जन र उहाँका परिवारले यस्तो जटिल शल्यक्रिया न्यूनतम शुल्कमा यति छिटो नेपालमै प्रत्यारोपण हुन सक्छ भनेर कल्पना नै गर्न नसकेको र सपनाजस्तै लागिरहेको बताउनुभयो । डा. पुकारको नेतृत्वमा केन्द्रबाट प्रदान गरिएको सेवा विश्वस्तरीय रहेको र आपूmहरू पूर्ण रूपमा सन्तुष्ट रहेको उल्लेख गर्नुभयो । उहाँले अंग फेल भएकालाई आफ्नै देशको सेवामा आश्वस्त हुन आग्रह गर्नुभयो । उक्त कार्य सफल बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्ण सहयोग प्राप्त भएको प्रत्यारोपण केन्द्रले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।