काठमाडौं।
नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन गरिएको नौ महिनाको सैन्य आधार तालिम आज समापन भएको छ। तालिम समापनका अवसरमा आयोजित विविध कार्यक्रमहरूमा प्रशिक्षार्थी सैन्यहरूले अन्तिम दलेल कवाज प्रस्तुत गरेका थिए।

यसपटक देशभरका १९ स्थानहरूमा तालिम सञ्चालन भएको थियो। तालिम सफलतापूर्वक सम्पन्न गरी २,५६४ जना पुरुष र ३८७ जना महिला, गरी कुल २,९५१ जना नयाँ सैन्य दीक्षित भएका छन्।

त्रिशूलीस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा आयोजित समापन कार्यक्रममा बलाधिकृत रथी श्री निर्मल कुमार थापा प्रमुख अतिथि रहेका थिए। त्यस्तै, सैनामैनास्थित श्री नं. २ सैन्य तालिम केन्द्रमा सैनिक तालिम महानिर्देशक रथी श्री ध्रुव प्रकाश शाहको प्रमुख आतिथ्यमा अन्तिम दलेल कवाज सम्पन्न भयो। अन्य तालिम केन्द्रहरूमा पनि सम्बन्धित पृतनापति, वाहिनीपति तथा वरिष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार वितरण गरेका थिए।

समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नवनियुक्त सिपाहीका परिवारजन र स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

नेपाली सेनाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको यस किसिमको आधार तालिम नयाँ सिपाहीहरूलाई सैनिक शिस्त, तालिम र अनुशासनमा दक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।