
काठमाडौं ।
आर्थिक प्रलोभन देखाउँदै नाबालिकालाई राजधानीको डान्स क्लबमा जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा पक्राउ परेका दुई व्यक्तिलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
पीडित नाबालिका ९नाम परिवर्तन० लाई प्रतिवादी दीपक तुम्सिङ मगर र ईश्वर तामाङ उर्फ ईश्वर सिन्चुरी ले मासिक १५ हजार रुपैयाँ तलब, टिप्स, खाना, खाजा, अफिसकै गाडीमा ओहोरदोहोर हुने सुविधा दिने भन्दै काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित ‘मिनि हेभन डान्स क्लब’ मा वेटरको काम लगाइदिने लोभ देखाएका थिए।
तर २०८१ साल फागुन २ गतेदेखि डान्स क्लबमा काम सुरु गरेकी नाबालिकालाई वेटरको काम नलगाई डान्स गर्न बाध्य पारिएको थियो । त्यसक्रममा उनलाई जबरजस्ती रक्सी खुवाउने, ग्राहकसँग बस्न लगाउने, उच्च मूल्यको बिल उठाउन बाध्य पार्ने जस्ता कार्य गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
त्यसपछि डर त्रास, मानसिक दबाव र कुटपिटका घटनासमेत घटाइ नाबालिकालाई क्लबसँगै आबद्ध गेस्टहाउसहरूमा पठाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराइएको थियो ।
घटना थाहा पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो बाट खटिएको टोलीले २०८२ साल वैशाख १२ गते पीडित नाबालिकाको उद्धार गरेको थियो। त्यसपछि पीडितले वैशाख १९ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।
घटना विवरणसहितको उजुरीका आधारमा ब्यूरोको टोलीले वैशाख ३१ गते काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भु क्षेत्रबाट मुख्य प्रतिवादी दीपक तुम्सिङ मगर र ईश्वर सिन्चुरीलाई पक्राउ गरेको थियो ।
प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरियो। त्यसपछि अदालतले २०८२ जेठ २७ गते दिएको थुनछेक आदेश अनुसार दुवै अभियुक्तलाई डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
प्रहरीका अनुसार घटनामा थप संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान कार्य जारी छ। मानव बेचबिखन तथा यौन शोषणको यो घटनाले पुनः एक पटक नाबालिकामाथि हुने हिंसा र यौनशोषणविरुद्धको राज्य संयन्त्र सशक्त हुनुपर्ने आवश्यकतालाई उजागर गरिदिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।