
दाङ ।
दाङको लमही नगरपालिका–९, अमिलियाबाट अवैध वन पैदावार बोकेर यात्रा गरिरहेका एक व्यक्ति यार्सागुम्बा र कस्तुरी जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति शिवचन्द्र बुढा हुन्, जो जुम्ला जिल्लाको सिंजा गाउँपालिका–४ स्थायी बासिन्दा हुन् भने हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बसोबास गर्दै आएका थिए ।
पूर्व–पश्चिम राजमार्गको अमिलिया खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बुढाले चलाएको लु ५४ प ७८२७ नम्बरको पल्सर मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिएको सूचनाको आधारमा प्रहरीले उनलाई खोजतलास थालेको थियो ।
दुर्घटनापछि पक्राउ पर्ने डरले उनी स्थानीय बासिन्दा रिता चौधरीको घरमा लुकी बसेको अवस्थामा फेला परेका थिए । प्रहरी टोलीले शंका लागेर उनको साथमा रहेको झोला जाँच गर्दा यार्सागुम्बा र कस्तुरीसहितका सामाग्री फेला पारेको जनाएको छ ।
प्रहरीले कालो प्लास्टिकमा प्याक गरिएको यार्सागुम्बा ५०० ग्राम, कस्तुरी विना ९८ वटा,घटनास्थलमा प्रयोग गरिएको लु ५४ प ७८२७ नम्बरको १५० सीसी क्षमताको कालो–रातो पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका बुढालाई सो सामग्रीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, लमही दाङमा बुझाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्तिहरुको पहिचान तथा पृष्ठभूमि अध्ययन जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
वन पैदावार तस्करीको बढ्दो चासो
नेपालका हिमाली तथा उच्च पहाडी भेगहरूबाट संकलन गरिने यार्सागुम्बा, कस्तुरी र अन्य दुर्लभ वन पैदावार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा अत्यधिक मूल्य पाउने भएपछि तस्करीको लक्ष्यमा पर्दै आएका छन् ।
औषधीय गुणका कारण यस्ता वस्तुहरूप्रति चीन, भारत र अन्य देशमा ठूलो माग रहेको छ। यद्यपि, कानुनी अनुमति विना यसको संकलन, ओसारपसार तथा बिक्री वितरण गर्न पाइँदैन ।
प्रहरीका अनुसार यस्ता अवैध कारोवार रोक्नका लागि राजमार्ग, नाका र सीमावर्ती क्षेत्रमा निगरानी कडा पारिएको छ । वन कार्यालयले पनि अवैध संकलन तथा तस्करीमा संलग्नहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।