
काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो अभिव्यक्ति र सार्वजनिक सक्रियताले सत्तारुढ दल नेकपा एमालेमा गहिरो तरंग ल्याएको छ । भण्डारीले सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग गरेको कुराकानीले अब एमालेभित्र ‘ओलीपछिको नेतृत्व कसको’ भन्ने बहसलाई औपचारिक तहमा पुर्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो भनाइ र भण्डारीको जवाफ शैलीले संकेत गर्छ– एमाले अब एउटै अनुहारको भरमा अगाडि बढ्न सक्ने अवस्थामा छैन ।
भण्डारीले स्पष्ट रूपमा भन्नुभयो– ‘वाम एकता अहिले सम्भव छैन, कारण हो आपसी अविश्वास ।’ उहाँले आफैंलाई वामपन्थी विचारको निरन्तरता र राष्ट्रिय आकांक्षाको प्रतिनिधिका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो– ‘जहाँ जन्मेँ, हुर्कें, राजनीति शुरू गरेँ त्यही विचार र संगठन मेरो मूल हो ।’ यो भनाइमात्र होइन, उहाँले चीन भ्रमणपछि झापा आएर एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी भएको शैली र एमालेका कार्यकर्तासँग जान कसैसँग अनुमति लिन नपर्ने अभिव्यक्तिले उहाँको राजनीतिक आकांक्षा झल्किन्छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा ‘पार्टीको भविष्य नेतृत्वबारे’ गरेको टिप्पणीलाई धेरैले विद्या भण्डारीप्रति लक्षित भनेका छन् । तर, भण्डारीको जवाफ कडा छ– ‘म गुट नगर्ने मान्छे हुँ, उहाँले मलाई लक्षित गरेर भन्नुभएको होला भन्ने लाग्दैन ।’ भण्डारीले एमालेको महाधिवेशन आउँदै गर्दा कार्यकर्तालाई थुमथुम्याउने भाषालाई ओलीको ‘संकेत शैली’ मात्र भएको हुन सक्ने अनुमान गर्नुभयो ।
भण्डारीको यो भनाइमा गहिरो संकेत छ– ‘पार्टीगत रूपमा म जुन पार्टीबाट जन्मेँ, हुर्कें र यो स्थानमा पुगेँ, त्योभन्दा फरक त सोच्न सकिन्नँ ।’ यसले भण्डारी अब पुनः पार्टी सक्रिय भूमिकामा फर्किन सक्ने आशंकामात्र होइन, सम्भावनाको सन्देश पनि दिन्छ ।
नेकपा एमालेका नेतृत्व तहमा धेरै समयदेखि ‘ओली केन्द्रित एकछत्र शैली’ आलोचना र असन्तुष्टि झेल्दै आएको छ । कार्यकर्तामा वामपन्थी संगठनको लोकतान्त्रिक चरित्रबारे प्रश्न उठ्दै आएको बेला, भण्डारीले दिएको सन्देशलाई धेरैले ‘संरचनागत सुधार र वैकल्पिक नेतृत्वको माग’का रूपमा पनि हेरेका छन् । उहाँले सक्रिय राजनीतिमा फर्किने सन्दर्भमा खास खण्डन त गर्नुभएन बरु राष्ट्रिय आकांक्षा, नयाँ पुस्ताको आशा र समाजवादी अर्थतन्त्रको कार्यान्वयनमा भूमिका खेल्न आफू तयार रहेको बताउनुभयो ।‘राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी हुन्छ काम गर्ने हो’ –भण्डारीले भन्नुभयो ।
वाम एकता किन सम्भव छैन ?
चीन भ्रमणपछि वाम एकता सशक्त हुने चर्चा चलिरहँदा भण्डारीले ‘विश्वासको संकट’ लाई वाम गठबन्धन असफल हुने मूल कारणका रूपमा देखाउनुभएको छ । उहाँ भन्नुहुन्छ– ‘वाम एकता भए पनि टिक्दैन, किनभने विश्वास छैन ।’ यो भनाइले एकातिर वाम दलहरूप्रतिको उहाँको गम्भीर दृष्टिकोण देखाउँछ भने अर्कोतिर एमालेभित्र नयाँ धार निर्माणको संकेत पनि दिन्छ ।
विद्या भण्डारी अब पार्टीको मुख्य धारमा फर्किने तयारीमा छन् भन्ने कुराको संकेत उहाँ आफैंबाट आएको छ । उहाँ एमालेको भाबी नेतृत्वकी सम्भावित प्रतिस्पर्धी मात्रै होइन, अब पार्टीको लोकप्रिय अनुहार बन्ने दिशामा अगाडि बढिरहेको देखिन्छ ।
वर्तमान अध्यक्ष ओलीको ‘एकछत्र शैली’ अब कमजोर हुँदै गइरहेको आभास पार्टीभित्रै बढ्दै छ र यो परिवर्तनको चाहना नयाँ पुस्तामा पनि स्पष्ट देखिन थालेको छ । यही बेला भण्डारीको उदयले एमालेको आगामी महाधिवेशनमा एउटा सशक्त नेतृत्व प्रतिस्पर्धा सुनिश्चित बनाउने छ । जसले अब ओलीवाद मात्र हैन, भण्डारी ब्रान्डको विचार र कार्यशैली पनि एमालेभित्र निर्णायक बन्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।