
काठमाडौं ।
नेपालमा यस वर्ष मनसुन सरदरभन्दा १५ दिनअघि नै, अर्थात् यही जेठ १५ गते कोसी प्रदेश हुँदै प्रवेश गरेको थियो । प्रारम्भमा सक्रिय देखिएको मनसुनी प्रणाली केही दिनमै कमजोर हुँदै पूर्वी एसियातर्फ फर्किएको छ । मौसमविद्हरूका अनुसार पूर्वी एसियाको फिलिपिन्स आसपास बलियो न्यूनचापीय क्षेत्र विकास भएका कारणले मनसुनी वायुले कोसी पार गर्न सकेन र त्यसकै असरस्वरूप देशभर अहिले ‘मनसुन ब्रेक’को अवस्था छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार प्रारम्भिक मनसुनी वायुलाई पूर्वतर्फ तान्ने प्रणाली अत्यन्त शक्तिशाली बनेको कारण, नेपालको भूभागमा सामान्य वर्षा गराएर त्यो प्रणाली फर्किएको हो । उहाँका अनुसार पूर्वी एसियातिर बनेको प्रणालीको कारणले कोसीमा छिरेको मनसुन अन्यत्र फैलिन पाएन । अझै केही दिन मनसुन व्यापक रूपमा फैलिने सम्भावना देखिँदैन ।’
मनसुन भित्रिएको दुई दिनपछि जेठ १७ गते पूर्वी नेपालका केही जिल्लाहरूमा मुसलधारे वर्षा भएपछि बाढी र ठूलो भौतिक क्षति हुन पुगेको थियो । सुनसरी र धनकुटा जोड्ने धरान–धनकुटा सडकखण्डअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाले सडकको झन्डै १०० मिटर भाग बगाएको थियो । सडक पूर्ण रूपमा अवरुद्ध भएपछि आवागमन रोकिएको थियो । त्यस्तै, झापाको माइखोलामा आएको बाढीले २२ घर डुबानमा परेका थिए ।
स्थानीय प्रशासनका अनुसार पानी घरभित्र पसेपछि मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । यही बाढीका क्रममा धरान उपमहानगरपालिका–१५ मा एक वृद्ध र धनकुटाको छथर जोरपाटीमा एक महिला गरी २ जनाको ज्यान गएको पुष्टि भएको छ । झापा, मोरङ र धनकुटामा गरी ११० बिघाभन्दा बढी खेतीयोग्य जमिन बाढीले प्रभावित बनाएको छ । त्यस्तै, ४ वटा झोलुंगे पुल र ३ वटा विद्यालय भवनमा क्षति पुगेको स्थानीय तहका प्रारम्भिक रिपोर्टहरूले देखाएका छन् ।
तापक्रम चुलिँदै, मनसुनको ‘ब्रेक’ले देशभर असर
पूर्वमा भयानक वर्षा भए पनि त्यसयता देशभर वर्षा रोकिएको छ । मौसमविद्हरूका अनुसार अहिले पश्चिमी तथा स्थानीय वायुसँगै उच्च तापमानको अवस्था रहन थालेको छ । मौसमविद् गोविन्द झा भन्नुहुन्छ– हाल बंगालको खाडीबाट आउने जलवाष्पयुक्त वायु कमजोर भएको छ । त्यसैले मनसुनले मुलुकभर प्रभाव जमाउन सकेको छैन । पश्चिमी वायु बलियो रहँदा मनसुन दबिएको छ ।
यो अवस्था सामान्य नभएको भन्दै अर्का मौसमविद् महेन्द्र श्रेष्ठले मनसुन ‘ब्रेक’मा जानु चिन्ताको विषय भएको बताउँदै यस्तो अवस्थामा कुनै क्षेत्र एकदमै सुक्खा रहने भने अर्को क्षेत्रमा एकैपटक अति वर्षा हुने सम्भावना हुन्छ । यसले बाढी, पहिरो, खडेरीजस्ता चरम मौसमी अवस्थाहरू निम्त्याउन सक्छ ।
फेरि बदलिँदै मौसम
हालैको अवस्थालाई लिएर मौसमविद् झाले भन्नुभयो– ‘बंगालको खाडीमा फेरि न्यूनचापीय प्रणाली बन्न थालेको छ । त्यस्तै, भारतको मध्यभूभागमा पनि चापीय क्षेत्र विकसित हुँदै छ । यी प्रणालीले एक–दुई दिनभित्र नेपालको दक्षिणी भूभाग हुँदै पुनः सक्रियता ल्याउने सम्भावना छ ।
तर, मौसमविद् श्रेष्ठको धारणा अलिक फरक छ । उहाँ भन्नुहुन्छ– ‘मौसम चाँडै पूर्ण रूपमा पुनः सक्रिय हुन्छ भन्ने ठोकुवा गर्न सकिँदैन । केही दिन आंशिक बदली देखिए पनि व्यापक वर्षाका लागि अझै समय लाग्ने देखिन्छ ।’
विपद्को जोखिम र पूर्वतयारीयसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सुरुवातसँगै सम्भावित क्षतिका लागि तयारी थालेको छ । प्राधिकारणका प्रवक्ता रामबहादुर केसीका अनुसार यो वर्ष करिब २० लाख जनसंख्या प्रभावित हुन सक्ने पूर्वानुमान छ । तीमध्ये १० प्रतिशत (करिब २ लाख) लाई प्रत्यक्ष राहत तथा उद्धार सेवाको आवश्यकता पर्न सक्ने सम्भावनाका आधारमा पूर्वतयारी गरिएको छ ।
नेपालमा मनसुनको ढिलो आगमनभन्दा पनि यसरी ‘ब्रेक’मा जानु झनै खतरनाक संकेत भएको प्रवक्ता केसी बताउनुहुन्छ । यसले केही क्षेत्रमा अत्यधिक वर्षा र बाढी भने कतै लामो खडेरी ल्याउने जोखिम बढेको छ । वर्तमान अवस्थामा पूर्वी नेपालमा स–साना बाढी र पहिरोका घटनाले आगामी दिनमा ठूलो चुनौतीको संकेत दिइरहेको उहाँले बताउनुभयो ।
प्राधिकरणले उच्च जोखिम भएका ४२ जिल्ला पहिचान गरी त्यहाँ स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, रेडक्रसलगायतका संयन्त्रहरूलाई तयारी अवस्थामा राख्ने कार्ययोजना शुरू गरिसकेको छ । साथै, विद्यालय, सार्वजनिक स्थल र नदी किनारका बस्तीहरूमा चेतनामूलक कार्यक्रम सञ्चालनको तयारीसमेत गरिएको छ । यस वर्ष मनसुन असामान्य ढंगले शुरू भएको छ । समयभन्दा अगाडि कोसी प्रदेश हुँदै भित्रिएको मनसुन पूर्वतिर फर्किएको छ । त्यसपछि देशभरि तापक्रम बढेको छ, वर्षा रोकिएको छ र चरम मौसमी अवस्थाको जोखिम देखिएको छ ।
पूर्वी नेपालमा बाढी र डुबानले मृत्यु र भौतिक क्षति पुर्याइसकेको छ । मौसमविद्हरूको पूर्वानुमानअनुसार केही दिनमा वर्षा पुनः सक्रिय हुन सक्छ, तर, त्यो कहाँ, कति र कुन गतिमा सक्रिय हुन्छ भन्ने अझै स्पष्ट छैन । यस सिजनको मनसुनले धेरै चुनौतीहरू ल्याउने संकेत दिइसकेको छ । अबको तयारी, समन्वय र सूचना प्रवाहको चुस्तता नै जनधनको क्षति कम गर्ने मुख्य आधार हुनुपर्ने देखिन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।