
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकामा अस्पताल निर्माणको क्रममा अनियमितता भएको ठहर गर्दै नेकपा एमालेका मधेस प्रदेश सांसद दीपेन्द्र ठाकुर तथा गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित १७ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
एमालेको तर्फबाट धनुषाका निर्वाचित प्रदेश सांसद ठाकुरलाई ठेकेदारका रूपमा मुद्दा दायर गरिएको हो । उहाँलाई डी एन्ड एन बिल्डर्स प्रालिको प्रबन्ध निर्देशकका रूपमा प्रतिवादी कायम गरिएको हो । अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा उक्त मुद्दा दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुर, तत्कालीन उपाध्यक्ष मीरादेवी सहनीलाई समेत प्रतिवादी कायम गरिएको छ । त्यसै गरी सोही गाउँपालिका वडा नम्बर १ का तत्कालीन अध्यक्ष अशेश्वर यादव, वडा नम्बर २ का तत्कालीन अध्यक्ष अमितकुमार यादव, वडा नम्बर ३ का तत्कालीन अध्यक्ष गंगाप्रसाद यादव, वडा नम्बर ४ का तत्कालीन अध्यक्ष शिवनाथ साह, वडा नम्बर ५ का तत्कालीन अध्यक्ष परमेश्वर कुमार मण्डल र वडा नम्बर ६ का तत्कालीन अध्यक्ष दिलीप प्रसाद साहविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
त्यसै गरी तत्कालीन सबइन्जिनियर सन्तोषकुमार मण्डल, तत्कालीन खरिदार मनोजकुमार यादव र मनोज कुमार मण्डल, तत्कालीन सबइन्जिनियर विनीतकुमार साह र तत्कालीन सिभिल इन्जिनियर सोनु साहलाई प्रतिवादी कायम गरिएको छ ।
लुम्बिनी बिल्डर्सका प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी÷डी एन्ड एन जेभी नामका कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारका अनुसार औरही गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणको काममा अनियमितता भएको भन्दै अख्तियारले ६ करोड ७९ लाख १२ हजार ३८३ रुपियाँ बिगो कायम गरेको छ । ठेक्कामा कम रकम १२ करोड ३५ लाख ५० हजार २ सय ४८ रुपियाँ प्रस्ताव गर्ने प्रतिष्ठा-धुलिखेल-एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्यांकनमा फेल गराई बढी रकम १९ करोड १४ लाख ६२ हजार ६ सय ४२ रुपियाँ पेस कबोल गर्ने लुम्बिनी-डी एन्ड एन जेभीलाई छनोट गरी राज्यलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपियाँ हानि नोक्सानी गराएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रमअन्तर्गत स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १५ श्ययाको अस्पताल निर्माणका लागि भएको टेन्डरमा नै अनियमितता भएको अख्तियारको आरोप छ ।की एक्टिभिटिजको नाममा बदनियत राखी बोलपत्र प्रस्तावमा नै केही प्रावधान राखी संशोधन गरेको अख्तियारको आरोप छ । ठेक्कामा प्रस्ताव पेस गरेका १५ वटा बोलपत्र प्रस्तावलाई प्राविधिक मूल्यांकनमा फेल गराइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।