
–शुरूमा संयुक्त, त्यसपछि एक्लाएक्लै
–अढाइ महिनापछि भेटघाट, आज फेरि बैठक बस्ने सम्भावना
–मुख्य एजेन्डा कार्यपालिका बैठक
–असार १५ भित्र बजेट नल्याए आर्थिक कारोबार रोकिने भएपछि बैठक
–सीसीटिभी जडान गरेको स्थानमा बैठक बहिष्कार
–राष्ट्रियसभाको होल्डिङ रूममा बैठक
काठमाडौं ।
उपमेयर सुनिता डंगोल र वडाअध्यक्षसँग बोलचाल बन्द भएको अढाई महिनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलका साथै तीनजना कार्यपालिका सदस्यको गोप्य वार्ता भएको छ । बुधबार मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म संयुक्त र ४ बजेपछि मेयर साह र उपमेयर डंगोलबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।
मेयर साहले आफ्नै कार्यकक्षमा केही सल्लाहकार र स्वीकय सचिव भुपदेव साहसहित भेट्ने चाहना राख्नुभएको थियो । तर, उपमेयर र ३ जना वडा अध्यक्षले छुट्टै तर सीसीटिभी जडान नभएको स्थानमा मात्र कुराकानी गर्ने अडान लिएका थिए । मेयर सचिवालयका सदस्यले सीसीटिभीको भिडियो र अडियो रेकर्ड गरी दुरुपयोग गर्नसक्ने आशंकामा उपमेयर डंगोल र वडाअध्यक्षले मेयरको कार्यकक्षमा बैठक नबस्ने अडान लिएका थिए ।
उक्त अडानपछि मेयर साह र उपमेयर डंगोलसहित कामपाका प्रवक्ता एवं नेपाली कांग्रेसको तर्फबाट महानगरमा प्रतिनिधित्व गर्ने वडाअध्यक्ष नवीन मानन्धर, एमालेको तर्फबाट ३२ वडाका वडाअध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीको तर्फबाट ईश्वरमान सिं डंगोलबीच राष्ट्रियसभाको होल्डिङ रूममा छलफल भएको थियो ।
बैठक शुरू हुनासाथ मेयर साहले पुराना कुरा कोट्याउँदै विभिन्न अडान राख्नुभएको जानकारी दिँदै बैठकमा सहभागी एक जनाले नेपाल समाचारपत्रसँग भने– ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको राडारभित्र रहनुभएका मेयरसाहले एक्लै भएपछि वार्तामा बोलाउनुभएको हो । हामीले चाहना गरेका होइनौं, मेयर आफैंले वार्ता गर्न खोजेपछि बैठकमा बसेका हौं ।’
असार १५ भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाका कारण मेयर आफैंले वार्तामा बोलाउनुभएको हो ।
नीति तथा कार्यक्रम तयार भएपछि नगर परिषद्को बैठक बस्नेछ । त्यसपछि बल्ल कार्यपालिकाको बैठक बसेर बजेट पारित गर्नुपर्ने हुन्छ । मेयर साहकै कारण पुस १४ गतेयता कार्यपालिका बैठक बस्न सकेको छैन । उहाँले झण्डै ६ महिनादेखि कार्यपालिकालाई बन्धक बनाएर बजेटसमेत ल्याउन नखोजेपछि उपमेयर डंगोल र नवीन मानन्धरको कारण हिजोको बैठक बसेको हो ।
बैठकमा मेयर साहले आफूलाई स्पष्टीकरण सोधेको प्रसंग उठाउँदै प्रवक्ता मानन्धरले कार्यपालिकाका सदस्यमाथि अपमान भएको विषय उठाउनुभएको बताइएको छ । बैठकमा कार्यपालिकाको बैठक डाक्ने विषयमा समेत कुराकानी भएको र आपसी सहमतिमा कार्यपालिका बैठक राखेर बजेट पारित गर्ने र कार्यपालिकाको बैठक नियमित बोलाउने विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार मेयर साहले बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा केही नबोली केबल कार्यपालिका बैठक डाकेर बजेट पारित गर्ने विषयमा मात्र कुराकानी गर्नुभएको थियो । स्रोतले भन्यो– ‘मेयर साहको अहिले पनि पहिलाको जस्तो ठाडो बोल्ने बानी देखियो । हरेक कुराकानीमा आफूमात्र सर्वेसर्वा भएको देखाउने बानी पनि देखियो ।’
बैठकमा मेयरका स्वकीय सचिव भुपदेव साह र सल्लाहकारबाट महानगरका कर्मचारीमाथि भइरहेको हस्तक्षेपको बारेमा कुरा उठेको थियो । मेयर, उपमेयर र ३ वडाअध्यसँगको बैठक सकिएलगत्तै करिब साढे ४ बजेदेखि मेयर साह र उपमेयर डंगोलबीच एक्लाएक्लै वार्ता भएको थियो । वार्तामा कार्यपालिका बैठक राख्ने मिति तय गर्ने विषयमा कुरा भएको स्रोतको भनाइ छ । उपमेयर डंगोलसँगको बैठकपछि कार्यपालिका सदस्यहरूसँग पनि छलफल भएको थियो । आज बिहीबार फेरि वार्ता गरी कार्यपालिकाकाको बैठक राख्ने बारेमा निर्णय गर्ने सम्भावना रहेको छ ।
स्रोतका अनुसार अझै पनि मेयर साहले आफ्नो पुरानो अडान छाड्नुभएको छैन । गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत गुरागार्इंलाई कार्यालय प्रवेश गर्न रोक लगाएपछि उपमेयर डंगोलको नेतृत्वमा सबै कार्यपालिका सदस्य र कर्मचारीको सहयोगमा कार्यालय प्रवेश गराइएको थियो । सोही कारण मेयर साह उपमेयर डंगोल र कार्यपालिका सदस्यसँग अढाई महिना बोलचाल बन्द भएको थियो । अब भने सम्बन्ध सुधार हुने सम्भावना बढेको स्रोतको भनाइ छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।