
उदयपुर ।
केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प भएको छ ।
गत आइतबारदेखि अत्यधिक गर्मी बढेको र विद्यार्थीहरु बिरामी हुन थालेपछि सूचना प्रकाशित गरेर विद्यालय बन्द गरिएको हो।
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले नगरपालिका भित्रको सामुदायिक र संस्थागत सबै विद्यालयमा बुधवार नै सूचना निकालेर बिहीबार र शुक्रबार गर्मी बिदा दिइएको छ ।
त्रियुगा नगरपालिका शिक्षा शाखाकी नायव सुब्बा सिर्जना गुरागाँई कोइरालाले अत्यधिक गर्मीका कारण ससाना बालबालिका तथा ठूला कक्षामा अध्ययनरत भाइबहिनीहरुमा पनि गर्र्मीको असर परेकोले दुई दिन बिदा दिईएको बताइन ।
त्रियुगा नगरपालिकाभित्रमा सामुदायिक र संस्थागत गरेर करिब ५ दर्जन विद्यालयहरु रहेको र त्रियुगा नगरपालिकाको ३ वटा वडामात्र पहाडी क्षेत्रको महाभारत श्रृङ्खलाभन्दा दक्षिणमा रहेको छ । अधिकांश विद्यालय तराई भागमा पर्ने भएकोले केही दिनदेखि बढेको गर्मीबाट जोगाउन र बिरामी हुनबाट बचाउन विद्यालयमा बिदा दिइएको त्रियुगा नपाको शिक्षा शाखाले जनाएको छ ।
यस विषयमा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले कटारी नगरपालिकाको तराई क्षेत्रमा अत्यधिक गर्मी हुने ठाउँका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठन पाठन केही दिनकालागि स्थगीत गरिएको जानकारी दिंदै गर्मीका कारण विद्यार्थीहरु बेहोस हुने, लड्ने गरेकाले बिदा दिइएको बताए ।
कटारी नगरपालिकाको केही भूभाग तराई क्षेत्रमा र अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्ने भएकोले पहाडी क्षेत्रको विद्यालयहरुमा भने पठन पाठन संचालन भैरहेको नगर प्रमुख श्रेष्ठले बताए ।
कटारी नगरपालिकाको क्षेत्र महाभारत श्रृङ्खला माथिसम्म सुनकोशी नदीको किनारासम्म रहेको र सिन्धुली ओखलढुङ्गा, खोटाङ जिल्लाको सिमासम्म रहेकोले सो क्षेत्रमा तराईको जस्तो गर्मी नहुने सितल नै भएकोले सो क्षेत्रमा भने विद्यालय संचालनमा रहेको प्रमुख श्रेष्ठले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।