काठमाडौँ।
नेपाली सेनाले जङ्गी अड्डामा एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गरेको छ। बिहीबार प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा पाँचौं संस्करणको एक दिवसीय “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी – २०८२” सञ्चालन गरेको हो।

सूचना तथा प्रविधिको तीव्र विकास र विस्तारले मानवीय जीवनलाई सहज बनाउनुका साथै साइबर आक्रमण र साइबर अपराधका घटनाहरूले जोखिम समेत बढाएको परिप्रेक्ष्यमा साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभवहरू आदान प्रदान गराउने उद्देश्यले उक्त गोष्ठी सञ्चालन भएको
नेपाली सेनाले जनाएको छ।
दुई चरणमा सञ्चालित गोष्ठीमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरु, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइवर सुरक्षासँग सम्बन्धित गैर-सरकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

साइबर सुरक्षा सम्बन्धी विषय विज्ञहरूद्वारा प्रस्तुतीकरण गरिएको गोष्ठीमा सहभागीहरू बिच विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै अन्तरक्रिया तथा अभ्यास समेत सञ्चालन गरिएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।