
काठमाडौं ।
भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको भयानक विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुहरूको परिवारलाई टाटा समूहले प्रतिव्यक्ति एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।
टाटा समूहअन्तर्गत रहेको एयर इन्डियाको उडान नम्बर १७१ बिहीबार दुर्घटनामा परेपछि कम्तीमा २०४ यात्रुको मृत्यु भएको पुष्टि भएको छ। २४२ यात्रु सवार उक्त विमानमा हालसम्म एक जनाको मात्र जीवित उद्धार गरिएको छ भने बाँकीको अवस्थाबारे आधिकारिक विवरण आउन बाँकी छ।
टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “एयर इन्डियाको उडान १७१ सँगसम्बन्धित भयानक घटनाबाट हामी स्तब्ध र दुःखी छौँ। यस क्षणमा हामीले महसुस गरिरहेको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। हाम्रो सहानुभूति आफ्ना प्रिय गुमाएका परिवारहरूसँग छ, र हामी घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं।”
विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि टाटा समूहले प्रत्येक मृतक परिवारलाई एक करोड भारू उपलब्ध गराउने, घाइतेहरूको सम्पूर्ण उपचार खर्च आफैं व्यहोर्ने, र उनीहरूलाई आवश्यक पर्ने सबै प्रकारका सहायता र हेरचाह सुनिश्चित गर्ने बताइएको छ।
यससँगै टाटाले दुर्घटनापछि उत्पन्न भएको स्वास्थ्य संकट समाधान गर्न बीजे मेडिकल कलेजमा होस्टेल निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ।
टाटा समूहले स्थापना गरेको एयर इन्डिया कम्पनी सन् १९५३ मा भारतीय सरकारले अधिग्रहण गरेको थियो। विगतमा लामो समय घाटामा रहेको यो राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सलाई पुनः सुधार गर्ने प्रयास असफल भएपछि सन् २०२२ मा पुनः टाटा समूहको स्वामित्वमा फर्काइएको हो।
यो दुर्घटना पछिल्लो दशकको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिएको छ। घटनाको अनुसन्धान प्रारम्भिक चरणमा रहेको र भारतको नागरिक उड्डयन प्राधिकरण तथा सुरक्षा निकायहरूले घटनास्थलमा अनुसन्धान गरिरहेको बताइएको छ।
दुर्घटनाको कारण बारे हालसम्म स्पष्ट जानकारी आएको छैन, तर प्रारम्भिक अनुमान अनुसार इन्जिन फेलियर वा ल्यान्डिङ गियरको गम्भीर समस्या मुख्य कारण हुन सक्ने सम्भावना छ।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि समवेदना प्रकट गर्दै राहत तथा उद्धारलाई उच्च प्राथमिकतामा अघि बढाउन निर्देशन दिएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।