२६ असोज , चितवन – चितवन घरघर मिलेर बन्ने टोलले सामाजिक सँगसँगै व्यावसायिक काम पनि गर्न सक्छन् भन्ने उदाहरण यहाँको उज्ज्वल टोल विकास संस्थाले देखाएको छ ।
भरतपुर महानगरपालिका–७ उज्वलटोलका स्थानीयवासीले गमलाबाट शुरु गरेको फूल लगाउने कामले पछिल्ला वर्षमा व्यावसायिक रुप लिको छ । केही वर्षपहिले उज्वलटोलका घरमा पूजाआजा गर्दा बाहिरबाट फूल ल्याउन नपरोस् भनी स्थानीय सबैका घरमा कम्तीमा १० वटा फूलका बिरुवा रोप्ने अभियान शुरु भएको थियो । दोस्रो वर्ष प्रत्येक बिरुवाबाट नौवटा कलमी निकाली ‘सय घर सय फूल’ अभियान विस्तार गरियो ।
‘घरघरमा फूल’ नाराका साथ शुरु भएको फूलखेती छोटो समयमै व्यावसायिकतामा परिणत भएको सयपत्री फूलखेती समूहका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताउनुभयो । उज्वलटोलका सयभन्दा वढी घरमा सो अभियान शुरु गरिए पनि २८ घरले मात्रै नियमितता दिएपछि हालको व्यावसायिक अभियानमा सो समूहमा २८ घर सहभागी भएका छन् ।
सो समूहलाई वैधानिकता दिन जिल्ला कृषि विकास कार्यालयमा दर्तासमेत गरिएको छ । फूलखेतीका लागि सो समूहले डेढ बिगाहा जग्गा भाडामा लिएको छ । प्रतिकट्ठा वार्षिक रु एक हजार ५०० मा जग्गा भाडामा लिएर खेती गर्न लागेको तीन वर्ष भएको छ ।
पहिलो वर्षमा माग अत्यधिक भए पनि व्यवस्थित गर्न नसकिएका कारण अलमलमा परेका फूलखेती समूहका व्यक्ति अहिले बेलैमा फूल टिपेर माला उन्ने तर्खरमा रेहका छन् । उनीहरुले फूल टिप्ने कामको शुरुवात गरिसकेको र यस वर्ष ३० हजार माला बेच्ने लक्ष्य लिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिगोटा मालाको रु ७० मा बेच्न सकिए पनि रु २१ लाख आम्दानी गर्न सकिने छ ।
तिहारलाई लक्षित गरी टिपेको फूलको माला बनाउन स्थानीयवासीले रोजगारीसमेत पाएका छन् । समूहकी उपाध्यक्ष गोमा बरालले प्रतिमाला रु पाँचमा स्थानीय महिलाले माला तयार गर्ने गरेको बताउनुभयो । एक दिनमा एकजनाले २०० वटासम्म माला तयार गर्न सक्छन् ।
फूलको उत्पादनपछि बिक्री वितरण गर्दा हाल राम्रै आम्दानी लिन थाले पनि उनीहरुलाई वैज्ञानिक विधि थाहा नहँुदा थुप्रै समस्या आएका छन् । फूलखेती गर्न त्यति सजिलो भने छैन । कृषि कार्यालयले पठाएको एउटा मात्रै तालिममा सहभागी भएका केही स्थानीयवासीले फूलमा लाग्ने रोग, मौसमको प्रतिकूलता, बाह्रैमासे फूल फुलाउने तरिका आदिबारे तालिमको खाँचो भएको बरालले बताउनुभयो ।
फ्लोरिकल्चर एशोसिएशन अफ नेपाल चितवनका अध्यक्ष प्रकाश पन्तले भारतबाट ठूलो मात्रामा फूल आयात हुने गरेको भन्दै गाउँगाउँबाट फूलखेती शुरु गरेमा परनिर्भर हुन नपर्ने बताउनुभयो । उहाँका अनुसार तिहारमा नारायणगढ बजारमा मात्रै भारतबाट ४० हजार हाराहारी माला आयात गरिन्छ |