
उदयपुर ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा गएको जेष्ठ महिनामा पाँच वर्षपछि कालाजारका बिरामी फेला परेका छन् । तर डेंगु रोगका बिरामीको संख्या भने शून्य रहेको छ ।
बिरामीको दिनहुँ अत्यधिक चाप हुने उदयपुर जिल्ला अस्पतालमा दैनिक ४ सयदेखि ५ सयसम्म विभिन्न प्रकारका बिरामीहरु उपचार गराउन आउने गरेको तर पाँच वर्षको अवधिमा २०८२ जेष्ठ १३ गते पहिलो पटक एक जना पुरुषमा कालाजार देखिएको हो ।
विगतका वर्षहरुमा गर्मीको समयमा फागुन चैत्र महिनादेखि नै डेंगुका बिरामी अपतालमा खचाखच भरिन्थ्यो भने यस वर्ष शून्य रहेको छ । अस्पतालमा डेंगुका बिरामीका कारण उपचारकालागि ठाउँ खाली हुँदैनथ्यो तर यस वर्ष भने डेगुका बिरामीहरु नै नदेखिएको हो ।
उदयपुर जिल्ला अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्डर सुरेश पाण्डेले कालाजारबाट पीडित बिरामीको नाम उल्लेख नगरिदिने शर्तमा उदयपुरगढी गाउँपालिका वडा नं ६ घर भएका ४२ वर्षका पुरुषमा कालाजार देखिएको र कालाजार रोगको उपचार उदयपुर जिल्ला अस्पतालमा नहुने भएकोले उनलाई थप उपचारकालागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए ।
यस विषयमा स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत लौकाजी राईले जिल्ला अस्पतालमा एक जना कालाजारका बिरामी देखिएको स्विकार्दै कालाजारको उपचार गाईघाटको अस्पतालमा गाह्रो हुने हुँदा सम्भव नभएकोले बाहिर पठाउनु परेको बताए । जिल्लाका अन्य पालिकाहरुमा पनि यस्ता बिरामी देखिएको तर धरान बिराटनगर लगायतका ठाउँहरुमा उपचार गराएर स्वस्थ्य भएको हुँदा रेकर्डमा नरहेको उनले बताए ।
राईले बिरामीको नाम उल्लेख गर्दा बिरामीलाई पीडा बोध हुने र समाजमा झन् पीडित भएर बस्नु पर्ने, सामाजिक रुपले पनि असर पर्ने भएकोले कालाजारका बिरामीहरुको नाम गोप्य राखिएको बताए ।
अचम्म्को कुरा के भने विगतका वर्षहरुमा अस्पतालमा यो समयमा डेंगुका बिरामीहरु धेरै हुन्थे तर यस पटक भने शून्य रहेको जानकारी दिंदै अस्पतालका सूचना अधिकारी पाण्डेले विगतमा डेंगुका बिरामीले अस्पताल भरिन्थ्यो, बेडको अभावमा भुँइमा राखेर बिरामीको उपचार गर्नु पदथ्यो तर यस पटक यो समस्या नभएको बताए ।
स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत राइले पनि विगतका वर्षहरुमा जिल्ला अस्पताल र पालिकाका स्वास्थ्य चौकीहरु पनि डेंगुका बिरामीहरु आउथे तर यस पटक नेपालका अन्य जिल्लामा डेंगु फैलिएको छ तर उदयपुरमा भने शून्य रहेको बताए ।
स्थानीय तहका स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालयले विगतमा डेंगुरोगबाट बच्न र बचाउन जनचेतना मुलक कार्यहरु गरिएको छ । सरसफाईमा ध्यान दिएको, सो सम्बन्धी सूचना प्रवाह स्थानीय सबै नागरिक समक्ष पुगेको छ । वडा वडामा गाउँटोलमा रहेका स्वास्थ्य संस्थासँगको सम्पर्कले डेंगु रोग लाग्न नदिन सुरक्षा नीति अवलम्बन गरेका कारण पनि यस पटक डेंगु रोग देखा नपरेको राईले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।