
मध्यपूर्व फेरि एकपटक बारुदको थुप्रोमा बसेको छ । इजरायलले इरानका परमाणु कार्यक्रम स्थलहरूमा सीधा हमला गरेपछि राजधानी तेहरानमा विस्फोटको गुञ्जायमान सुनिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको युद्ध दीर्घकालीन हुनसक्ने चेतावनी र इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीको इजरायलले ‘आफ्नै निम्ति दुर्भाग्य निम्त्याएको’ भनाइले यो द्वन्द्व कति गहिरो र दीर्घकालीन हुनसक्छ भन्ने स्पष्ट संकेत दिएको छ । यो भीडन्त सामान्य सीमित झडप नभई सम्भावित क्षेत्रीय युद्धको ढोकाको रुपमा लिइएको छ ।
अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्था आईआईएसएसका अनुसार इजरायलले रक्षा क्षेत्रमा इरानको तुलनामा दोब्बरभन्दा बढी खर्च गर्छ– सन् २०२२\२३ मा इजरायलको रक्षा बजेट १९ अर्ब डलर थियो भने इरानको ७ दशमलव ४ अर्ब मात्र । तर यति मात्र बलको आधार हुँदैन । इरानसँग छिमेकी देशहरूमा छरिएर रहेका सशस्त्र गुटहरू जस्तै– हिज्बुल्लाह, हमास, यमनका हुथीहरूलगायतका गैर–राज्य अभिनेताहरूको साथ छ । यी सबै गुटले संयुक्तरूपमा इजरायलमाथि छाया युद्धको रूप लिन सक्छन् ।
अहिलेको द्वन्द्वले जी–सेभेन राष्ट्रहरूको बैठकमा पनि असर पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक बीचमै छाडेर फर्किनु र तेहरान खाली गर्न दिएको चेतावनीले संकटलाई झन् चर्काएको छ । उनले सोसल मिडिया ‘एक्स’ मा इरानले परमाणु सम्झौतामा फर्किनुपर्ने र हतियार राख्न नपाउने बताएका छन् । तर यथार्थमा हेर्दा अमेरिका आफैं पनि कूटनीतिक समाधान खोज्नेभन्दा सैन्य दबाबमार्फत समाधान थोपर्न खोजिरहेको देखिन्छ ।
यही कारण जी–सेभेनको साझा युद्धविराम वक्तव्यमा ट्रम्पले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । इरानको साथमा रहेका मुलुकहरू– चीन, रसिया र कतिपय इस्लामिक राष्ट्रहरूले यो आक्रमणलाई उक्साहटको रूपमा लिँदा विश्व दुई ध्रुवमा बाँडिने खतरा देखिन्छ । रसिया युक्रेन युद्धमा अल्झिएको बेला अमेरिकाले अर्को मोर्चा खोल्नु चीनका लागि पनि सामरिक सन्तुलन बिग्रिने संकेत हुनसक्छ । यस्तो अवस्थामा शक्ति सन्तुलन बिग्रिनु भनेको संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको प्रभाव झनै खस्कनु हो ।
विश्वका लागि यसको प्रभाव बहुआयामिक हुनसक्छ । पहिलो, तेल आपूर्ति र मूल्यमा अस्थिरता आउने निश्चित छ । दोस्रो, इरानसँग व्यापार र सम्बन्ध रहेका मुलुकहरू परोक्षरूपमा युद्धको चपेटामा पर्न सक्छन् । तेस्रो, यस्ता द्वन्द्वले खाडी मुलुकहरू हुँदै दक्षिण एसिया र अफ्रिकासम्म शरणार्थीको चाप बढाउन सक्छ । नेपाल, जसको लाखौँ युवा खाडी राष्ट्रहरूमा रोजगारीमा छन्, तिनको सुरक्षाको सवाल उठ्ने निश्चित छ । यस्तो संवेदनशील घडीमा अन्तर्राष्ट्रिय समुदायले संयमता र संवादमार्फत समाधान खोज्नु अत्यावश्यक छ । इजरायलको सुरक्षा चासो जायज हो भने इरानमाथिको अन्तर्राष्ट्रिय कूटनीतिक प्रतिबद्धता, विशेषतः परमाणु सम्झौता कार्यान्वयन, अझै विफल हुनु विडम्बना हो । पश्चिमाले इरानलाई निरन्तर ‘अछूत’ बनाउने नीति अपनाउँदा त्यो उग्रवादतर्फ धकेलिने खतरा सधैँ रहन्छ ।
यदि विश्वले यो द्वन्द्वलाई नियन्त्रण गर्न सकेन भने, यसले सिरिया, यमन र लिबियामा देखिएको जस्तो ‘अनन्त युद्ध’को रूप लिन सक्छ । युद्ध जित्ने देश त पत्ता लाग्ला तर हार्ने भने सारा मानवता हुनेछ । त्यसैले, आजको आवश्यकताको नाम हो– संयमता, संवाद र विश्व नेतृत्वको नैतिक जिम्मेवारी । युद्ध होइन, सहमति नै भविष्य हो । त्यसैले, अहिलेको अवस्था सैन्य शक्ति प्रदर्शन होइन, कूटनीतिक संयमता र अन्तर्राष्ट्रिय हस्तक्षेपमार्फत समाधान खोज्ने गम्भीर क्षण हो । यदि यही बेला विश्वका नेताहरूले संयमता गुमाए भने, इतिहासले फेरि एकपटक मानवतामाथिको युद्ध लेख्नेछ र त्यसको मूल्य सम्पूर्ण संसारले तिर्नुपर्ने हुन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।