
वीरगन्ज।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी बन्जाडेलाई भैरहवा कारागारबाट पर्सा ल्याइने भएको छ। जिल्ला अदालत पर्सामा उनीहरू दुवैजना विरुद्ध सानो पाइला सहकारी ठगीको अभियोग दायर भएपछि अदालतले कारागारबाटै झिकाउने तयारी गरेको हो।
जिल्ला अदालत पर्साका सूचना अधिकारी रामनरेश महतोले रवि र छविलाई चाँडै पर्सा अदालतमा झिकाएर बयान लिइने र थुनछेक आदेश गरिने जानकारी दिए। फरारको हकमा म्याद जारी हुने र यसअघि नै कारागारमा रहेकाहरूलाई सम्बन्धित कारागारसँग समन्वय गरेर झिकाइने तथा अब केही दिनमै उनीहरूलाई झिकाएर अदालतले पत्र काटिने महतोले बताए ।
सानो पाइला सहकारी ठगीको दोस्रो चरणको अभियोगमा कुल २९ जनालाई प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा उनीहरूले सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।प्रतिवादीमध्ये २५ जना फरार रहेको र उनीहरूको हकमा अदालतबाटै म्याद जारी गर्न सरकारी वकिल कार्यालयले अभियोग पत्रमा माग गरेको छ। बाँकी चारजना भने अन्य सहकारी ठगीकै अभियोगमा पुर्पक्षका लागि कारागारमा छन्।
रवि लामिछाने र छविलाल जोशी बन्जाडे हाल रूपन्देहीको सुप्रिम सहकारी ठगी को अभियोगमा जिल्ला कारागार रूपन्देहीमा पुर्पक्षका लागि थुनामा छन्। छविलाई जिल्ला अदालत रूपन्देहीले र रविलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्न आदेश दिएको थियो। यद्यपि, रविलाई जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर उच्च अदालतले छविको हकमा जिल्लाकै आदेश सदर गर्दै रविलाई पनि थुनामै राख्ने आदेश गरेपछि उनीहरू दुवैजना मुद्दाको फैसला नआउन्जेल थुनामै रहने भएका छन्। यो आदेश सर्वोच्च अदालतबाट पनि सदर भइसकेको छ।
यसैगरी, रामबहादुर खनाल र प्रमोद भट्टराई कास्कीमा थुनामा छन्। यी चारैजनालाई झिकाई मुद्दाको कारबाही अगाडि बढाउन माग गरिएको छ। अदालतले एउटै कारागारमा रहेका रवि र छविलाई एकसाथ बोलाउने र अर्को कारागारमा रहेका अन्य दुई जनालाई अर्को पटक बोलाउने तयारी गरेको छ। सानो पाइला सहकारीको दोस्रो चरणको अभियोगमा फरार रहेका प्रतिवादीहरूमा भूपेन्द्र राई, सागर केसी, मनिषा पाण्डे, दीपक लामा, विशाल तामाङ, कविता तामाङ, भगवती बम्जन, खिमानन्द कँडेल, नवीन अछामी, हेमन्त अधिकारी, दिपिका राई, नविना रिमाल, इरान लामा, सविना आले मगर, भक्तबहादुर भ्लोन, प्रदिप लामा, सविता लामा, शान्तिकुमारी सुवेदी, गणेशराज श्रेष्ठ, सुनिता नेवा, रोमन काफ्ले, कमल लामा, कल्पनाकुमारी श्रेष्ठ, राजु बराल र नवराज राउत रहेका छन्।
उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा कसुरदार बनाइएको छ। यसअघि अनुसन्धानका क्रममा पनि रवि र छविलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मा अनुसन्धान चलिरहँदा अन्य जिल्ला डुलाएर बयान गराइएको थियो। उनीहरूविरुद्ध पोखरा र बुटवलसँगै चितवनको सहारा चितवन, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी मा पनि मुद्दा छ। बुटवलबाहेकका जिल्लाहरूले दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए, तर त्यस विरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत गएको छ। यद्यपि, उच्च अदालतबाट यस सम्बन्धमा आदेश हुन बाँकी छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।