
बारा ।
पुरानो रिसीबीको कारण देखाउँदै बाराको कलैयामा ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिटबाट ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा प्रमुख अभियुक्तसहित परिवारका तीन जना पक्राउ परेका छन्।
गत जेठ २९ गते साँझ करिब ६ः१५ बजे, बाराको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित आफ्नै घरमा बसिरहेका नन्दु राउत कुर्मीलाई सोही ठाउँमा बस्ने उमेश जैसवालसहित ६ जना समूहले समातेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए।
घटनामा गम्भीर घाइते भएका कुर्मीलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। तर, चिकित्सकले राति ७ः२० बजे उनलाई मृत घोषित गरेका थिए।
घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट टोली खटिएको प्रहरीको टोलीले प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्नमध्येका दिगम्बर साह कलवारलाई सोही दिन नियन्त्रणमा लिइएको बारा प्रहरी कार्यालयले जनाएको छ। उनलाई ज्यानसम्बन्धी कसुरअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
तीन जना थप पक्राउ, अन्य फरार
अनुसन्धानको क्रममा बाँकी फरार अभियुक्तहरूको खोजी गर्न प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा विशेष टोली खटाइएको थियो। टोलीले बुधबार फरार रहेका तीनजनालाई फरक–फरक स्थानबाट पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेहरूमा घटनाका मुख्य अभियुक्त उमेश जैसवालकी श्रीमती रन्जु जैसवाल, छोरा सुमित जैसवाल र अर्का छोरा सुजित कुमार जैसवाल रहेका छन्।
रन्जु जैसवाल बारा कलैया–५ स्थित सागर लामिछानेको घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला परेकी थिइन भने सुमित र सुजित वीरगञ्ज महानगरपालिका–१, शान्ति टोलस्थित बसिर मियाँको घरबाट पक्राउ परेका हुन्।
हत्या पछाडि पुरानो मनमुटावको शंका
प्रहरीले प्रारम्भिक अनुसन्धानको आधारमा हत्या पछाडि पुरानो रिसिबी र व्यक्तिगत मनमुटावको कारण देखिएको बताएको छ। घटनामा संलग्न भनिएका अधिकांश व्यक्ति आपसमा परिवारका सदस्य हुन्, जसले घटनालाई अझै गम्भीर बनाएको छ।
सुरक्षा सतर्कता बढाइयो
घटनापछि बारा क्षेत्रको स्थानीय सुरक्षा अवस्था कडा बनाइएको छ। प्रहरीले गाउँ र आसपास क्षेत्रमा शान्ति सुरक्षा सुनिश्चित गर्न गस्ती बढाएको छ भने सामुदायिक सतर्कता अभियान समेत सञ्चालन गरिएको छ।
स्थानीय आक्रोशित
स्थानीयवासीहरू भने नन्दु कुर्मीको हत्यालाई ‘योजनाबद्ध र नृशंस’ भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरिरहेका छन्। “यो सिंगो समुदायको सुरक्षामाथि प्रश्न हो, अपराधीहरूलाई उन्मुक्ति दिनु हुँदैन,” एक स्थानीयले प्रतिक्रिया दिएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।