
काठमाडौं ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा रमिला अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंबाट प्राप्त निर्देशनका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो।
निरज कुमार थारुले दिएको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी रमिला अधिकारीसमेतको नाम जोडिएको ठगी मुद्दामा अनुसन्धान गर्न माग गरिएको थियो। उक्त जाहेरीमा रमिला अधिकारीले वैदेशिक रोजगारमा पठाइदिने प्रलोभनमा पारेर रकम असुली गरेको आरोप लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट खटिएको टोलीले उनलाई मिति २०८२ असार ३ गते काठमाडौं महानगरपालिका वडा नं। ४ स्थित चण्डोल क्षेत्रबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानपश्चात अधिकारीलाई मिति असार ४ गते आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको जिल्ला प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार रमिला अधिकारीले वैदेशिक रोजगारीको नाममा विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको उजुरीहरु परेका थिए। ठगीसहित अन्य संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास कार्यसमेत जारी रहेको जनाइएको छ।
यस घटनाले वैदेशिक रोजगारीका नाममा हुने ठगीको पुनः पुष्टि गरेको छ। यसै सन्दर्भमा वैदेशिक रोजगार विभागले विदेश जान चाहने नागरिकलाई दलालको प्रभावमा नपरी कानूनी प्रक्रिया अपनाउन आग्रह गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।