
काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले खुद्रा विक्री मूल्य एमआरपीमा कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यवसायीक संघ संस्थाहरुका पदाधिकारीहरुको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यवहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरले मन्त्री मण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिको आधारमा मात्रै एमआरपीलाई कार्यन्व्यनमा लैजानुपर्ने बताएको छ ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई वञ्चित हुन नदिन तथा बजार र माल बस्तुकाबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरु अगाडी बढाइनु पर्ने अहिलेको आवश्यकता देखिएको छ ।,’
व्यावसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्यधिक जरिवाना गरी अनुगमन गरेको क्रियाकलापले व्यावसायिक वातावरण थप बिग्रन सक्ने अध्यक्ष अग्रवालले बताए ।
चेम्बर पदाधिकारीसंगको छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरुसंगको समन्वयमा अविलम्ब थप छलफल गरी मात्रै एमआरपी कार्यान्वयन प्रक्रियालाई आवश्यकता अनुसार अघि बढाइने बताए ।
मन्त्रालयमा आज भएको छलफलमा खुद्रा विक्री मूल्य एमआरपीका सम्वन्धमा हाल देखिएका अन्यौलताबारे सवै सरोकारवालाबीचको आपसी छलफलबाट अविलम्ब टुङग्याउनु पर्ने विषयमा सहमति भएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्यूहरुको पनि सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।