उदयपुर ।
कोशी प्रदेशसभाकी उप सभामुख सिर्जना दनुवारले कोशी प्रदेश सरकारले भर्खरै नीति तथा कार्यक्रम ल्याएको र सो कार्यक्रममा पर्यटन वर्ष २०८२ मनाउन १० करोड छुट्याएको बताएकी छन् ।
प्रमुख अतिथि उपसभामुख दनुवारले बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित चौथो औद्योगिक प्रदर्शनी तथा पर्यटन र रैथाने खाना महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका १४ जिल्लामा के कति बजेट पर्यटन प्रवद्र्धनका लागि गएको छ त्यो सबै हेर्न पाइने र बिहीबारबाट बजेटका बारेमा प्रदेशसभाममा छलफल सुरु हुने बताएकी छन् ।

आगामी दिनमा घरेलु तथा साना उद्योग महासंघले प्रदेश सरकारको मन्त्रालयसम्म पुगेर कार्यक्रम गर्न बजेट माग्नु पर्ने र पर्यटन प्रवद्र्धनका यस्ता कार्यक्रमहरुले उद्यम व्यवसाय विस्तार गर्न सहयोग पुग्ने हुँदा यसलाई आय आर्जन कार्यक्रमसँग पनि जोड्नु पर्ने उपसभामुख दनुवारले बताइन् ।
विशिष्ट अतिथि कोशी प्रदेशसभा सदस्य गीता रेग्मीले उद्यमी बन्न आफूले सिकेको सीपलाई सदुपयोग गरेर अघि बढ्नु पर्ने र महिला दिदी बहिनीहरुले उद्यमशिलतालाई प्राथमिकतामा राखेर काम गरेमा उद्यमी बन्न सकेमा समृद्ध नेपाल र सुखी नेपाी बन्ने चाहना पुरा गर्न सकिने बताइन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरको आयोजना तथा पर्यटन कार्यालय धरान र घरेलु तथा साना उद्योग कार्यालय गाइघाटको सहयोगमा आयोजित सो कार्यक्रम घरेलु तथा साना उद्योग महासंघ उदयपुरकी अध्यक्ष विना राईको अध्यक्षतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेशसभा सदस्य सम्झना पाख्रिन, उदयपुरका प्रजिअ प्रेमप्रसाद लुइटेलले उदयपुर साना उद्योग तथा पर्यटन प्रवद्र्धनका लागि अति नै सम्भावना बोकेको जिल्ला रहेको र तीनवटा राष्ट्रिय राजमार्गले जोडेको जिल्ला भएकोले अरु सम्भावना पनि रहेको बताए ।

सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मधुकर थापा, वरिष्ठ पत्रकार कौशल चेम्जोङ, कोशी प्रदेश पर्यटन वर्ष प्रचार प्रसार संयोजक फडिन्द्र अधिकारी, पर्यटन कार्यालय धरानका प्रमुख भिषण राई, घरेलु तथा साना उद्योग कार्यालय गाईघाटका प्रमुख अर्जुन घिमिरे, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल,ज्ञानु प्रधान, जिल्ला उद्योग वाणिज्य संघका सचिव युवराज पराजुली,गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य सुमन परियार, त्रियुगा संगीत विद्यालयका लगायतका निर्देशक शैलेन्द्र खतिवडा,वक्ताहरुले बोलेका थिए ।
भोलि बिहीबारसम्म सञ्चालन हुने सो प्रदर्शनीमा स्थानीय उत्पादनका स्टलहरु तथा रैथाने खानाका परिकारहरु स्टलमा राखिएको छ । उदयपुरका आठवटै पालिकाका प्रतिनिधिहरुको अनुपस्थिति रहेको सो कार्यक्रममा साकेला नाच, संगिनी गीत र नृत्य तामाङ सेलो गीत र नृत्यका साथै त्रियुगा संगित विद्यालयका भाइबहिनीहरुले प्रस्तुति गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।