
लमजुङ।
दोर्दी गाउँपालिका–९ स्थित थाम गाउँका २६ घरधुरीलाई मौरी पालन प्रवर्धन गर्न मौरी सहितको घार तथा आवश्यक सामग्री वितरणसँगै मौरी पालनसम्बन्धी अभिमुखीकरण गराएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) नेपालको आयोजनामा सञ्चालित एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सोे कार्यक्रम सञ्चालन गरिएको हो ।
आरसीडीसी नेपालका कार्यक्रम अधिकृत दुर्गा प्रसाद ढुङगानाका अनुसार प्रत्येक घरधुरीलाई एक-एक वटा मौरीसहितको घार र एक-एक वटा खाली घार प्रदान गरिएको छ । उक्त सामग्री थाम सुधार समितिका संयोजक विप्लाल तामाङको उपस्थितिमा वितरण गरिएको थियो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका ५ गहतेका मौरी व्यवसायि केश बहादुर गुरुङले सहभागीहरुलाई मौरी पालनको महत्व, मौरीको जीवनचक्र, मौरीको जात, मौरी पाल्दा अपनाउनुपर्ने सावधानी, मौरी घार व्यवस्थापन, मौरीबाट प्राप्त हुने उत्पादन (मह, मैन आदि), रोगव्याधि नियन्त्रण तथा मौरी पालनबाट आम्दानी आर्जन गर्ने उपायहरुबारे प्रशिक्षण दिएका थिए ।
सहजीकरण गर्दै प्रशिक्षक गुरुङले मौरी पालनलाई प्राकृतिक, व्यावसायिक र पारिवारिक आम्दानीको महत्वपूर्ण माध्यमका रुपमा लिन सकिने बताए । उनले प्रारम्भिक लागत कम, जोखिम न्यून र दीर्घकालीन लाभदायक पेशाका रुपमा मौरी पालनलाई ग्रामीण क्षेत्रमा प्रवर्धन गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।
यो कार्यक्रमले स्थानीय समुदायमा स्वावलम्बन र पोषण सुरक्षाको क्षेत्रमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।