
सिन्धुपाल्चोक ।
चीनसँगको मुख्य स्थलमार्गका रूपमा रहेको तातोपानी नाका अहिले पूर्णरूपमा अस्तव्यस्त भएको छ । रसुवागढी नाका बाढीले बन्द भएपछि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको तातोपानी नाकामा पनि कोदारी क्षेत्रमा पहिरो जाँदा व्यापार र तीर्थयात्रा दुवै प्रभावित भएका हुन् ।
नाका बन्द हुँदा नेपाल–चीन सीमाको दुवै किनारमा सयौं कन्टेनर अलपत्र छन् । चीनतर्फ ६५ वटा कन्टेनर फलफूल र खाद्यवस्तु लिएर रोकिएका छन् भने नेपालतर्फ पनि १७ वटा कन्टेनर स्याउसहितका सामग्री बोकेर भन्सारमा छिर्न नपाई रोकिन पुगेका छन् । फलफूल कुहिन थालेको र यसले करोडौंको क्षति पु¥याउने खतरा बढेको व्यवसायी बताउँछन् ।
मनासरोवर यात्रा गर्दै गरेका सयौं तीर्थयात्रीहरू समेत बाटोमै अलपत्र परेका छन् । कतिपयलाई हिँडेरै सीमा पार गर्न बाध्य पारिएको छ । सडक अवरुद्ध भएकाले भन्सारको राजस्व संकलनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएको अधिकारीहरूले बताएका छन् ।
स्थानीयबासी र व्यवसायीहरू डोजर चलाएर बाटो खोल्न सरकारलाई आग्रह गरिरहेका छन् तर डोजरले माटो पन्छाउँदा बस्तीमा जोखिम उत्पन्न भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले नाका सञ्चालन र गाउँ सुरक्षा दुवै चुनौती भएको बताउनुभएको छ ।
चार वर्षदेखि दोहोरिँदै आएको यो समस्या अझै समाधान हुन सकेको छैन । गत वर्ष पनि यस्तै अवरोधका कारण करोडौंको स्याउ तिब्बती भू–भागमै फ्याँक्नुपरेको व्यवसायी शारदा पराजुलीले बताउनुभयो ।
तातोपानी भन्सारको यो वर्षको राजस्व लक्ष्य करिब २५ अर्ब रहे पनि सडक नखुल्दा लक्ष्य पूरा हुने सम्भावना निकै कम भएको व्यवसायीहरू बताउँछन् । सडक स्तरीय सुधार र पूर्वाधार विकासमा सरकारी ध्यान नपुगेको भन्दै वाणिज्य संघ, व्यवसायी र स्थानीय निकायले सरकारलाई पटक–पटक धानाकर्षण गराउँदै आएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।