
बैतडी ।
नेपाली कांग्रेस बैतडीको दोगडाकेदार गाउँपालिकाका वडा–वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साउन १३ गते शुरू भएको वडास्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य केशवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘साउन १३ गते दोगडाकेदार वडा नम्बर २ बाट शुरू भएको प्रशिक्षण कार्यक्रम सबै वडा सञ्चालन गरेका हौं । आज समीक्षासहित सम्पन्न भएको छ ।’
प्रशिक्षणमा नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण संयोजक वीरबहादुर विष्टको सहभागिता रहेको थियो । दोगडाकेदारका आठओटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका सभापति नन्दराज भट्टले बताउनुभयो ।
नेपाली कांग्रेसको नीति, विधि, विधान र संगठन विस्तारका विषयमा प्रशिक्षण कार्यक्रममा छलफल भएको उपसभापति विष्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूलाई स्थानीय स्तरदेखि नै प्रशिक्षित गराउन वडास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हौं ।’
यसका साथै प्रशिक्षणमा पार्टीको आदर्श र सिद्धान्तका बारेमा समेत छलफल गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रशिक्षणमा पार्टीको आदर्श र सिद्धान्त, टोलस्तरमा संगठन विस्तार गर्ने, पालिका समितिले निरन्तर वडा र टोल समितिसँग संवाद गर्ने, पार्टीका बैठक नियमित गर्नेबारेमा छलफल भएको छ । साथै जलवायु परिवर्तन, ग्रामीण अर्थतन्त्र, कार्यकर्तालाई सुख दुखमा साथ दिने कुरामा बहस भएको छ ।’
प्रशिक्षण कार्यक्रमले पार्टी एकढिक्का, सुदृढीकरण र संगठन बिस्तारमा सहयोग पुग्ने विश्वास गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो– ‘वडास्तरीय प्रशिक्षण कार्यक्रमले पार्टी एकढिक्का, सुदृढीकरण र संगठन बिस्तारमा सहयोग पुग्ने विश्वास छ । प्रशिक्षणलाई अभियानकै रूपमा जिल्लाभर नै सञ्चालन गर्ने योजना बनाएका छौं ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।