०७ कात्तिक , भैरहवा – अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको ठेक्का पाएको चिनियाँ कम्पनीको व्यवस्थापक परिवर्तन भएपछि राष्ट्रिय गौरवको यो आयोजनाको निर्माण कार्यले तीव्रता पाएको छ ।
चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आफ्नोे व्यवस्थापन फेरेपछि विमानस्थलको निर्माण कार्य तीव्र रूपमा काम अगाडि बढेको आयोजनाका प्रमुख ओम शर्माले जानकारी दिनुभयो । यसअघि चिनियाँ कम्पनीले अङ्ग्रेजी भाषा नबुझ्ने र बढी अनुभव नभएका कर्मचारीलाई आफ्नो आयोजना व्यवस्थापकका रूपमा विमानस्थलमा खटाएको थियो तर विवाद पश्चात् कम्पनीले अहिले आयोजना व्यवस्थापकसहित अन्य कर्मचारीलाई तानेर नयाँ व्यवस्थापनमा अनुभवी र दक्ष कर्मचारी पठाएपछि कामले तीव्रता लिएको हो ।
विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनी र नेपाली सह ठेकेदारबीच रकम लेनदेनको विषयमा विवाद भएपछि निर्माण कार्य रोकिनुका साथै सुस्त गतिमा काम भएको थियो । साथै निर्माण कार्यमा अभाव भएका दक्ष कर्मचारी र आवश्यक मेसिनरी औजारसहित विभिन्न सामग्री पनि चिनियाँ कम्पनीले केरुङ नाकाबाट आयात गर्दै काम अगाडि बढाएको छ ।
केही महिना अघिसम्म निर्माण कम्पनीसँग आधुनिक औजार प्रयोग गर्ने दक्ष कर्मचारी नहुँदा उसलाई समस्या परेको थियो तर अहिले उसले चीनबाट नै दक्ष कर्मचारी ल्याएर तीव्र रूपमा काम अगाडि बढाएको छ –आयोजना प्रमुख शर्माले भन्नुभयो ।
विवाद पश्चात् विमानस्थलमा औसतमा ८० कामदारले मात्र काम गराइरहेको निर्माण कम्पनीले अहिले कामदार सङ्ख्यासमेत बढाएको छ ।
शर्माका अनुसार विमानस्थलमा रनवे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर लगायतका काम भइरहेका छन् । काममा सुस्तता भए पनि विमानस्थल आयोजनाले काममा अगाडि नबढे निर्माण कम्पनीसँग ठेक्का तोड्ने चेतावनीसमेत दिएको थियो । त्यस पश्चात् निर्माण कम्पनीले गम्भीरताका साथ भैरहवा विमानस्थलको निर्माण कार्य अगाडि बढाएको छ ।
यो विमानस्थल ‘फोर ई’ स्तरको हो । जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । तराईको ‘लोकेसन’ भएको हुँदा कहिले काहीँ त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्ने विमान पनि यहाँ अवतरण गराउन सकिनेछ ।
यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । यो दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थलले ह्यान्डल गर्ने लक्ष्य राखिएको छ तर सुरुमा भने ५–६ सय यात्रुलाई सेवा दिन सकिने आयोजनाले जनाएको छ ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतम बुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभिएसन कम्पनीले छ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपियाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो तर मधेस आन्दोलनका कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकाले उसले सन् २०१८ जुलाई महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य पाएको छ । एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो ।
यो खबर आजको गोरखापत्रमा छ ।