०२ मंसिर , काठमाडौँ – सदरमुकामदेखि गाउँसम्म निर्वाचन गतिविधिले रौनकता छाएको छ । आसन्न मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी यहाँका दल तथा तीनका उम्मेदवार गाउँदेखि सदरमुकामसम्म प्रचार–प्रसारमा व्यस्त छन् ।
निर्वाचनमा वाम गठबन्धन र कांगे्रसको प्रचार र चुनावी सभा गाउँ–गाउँमा बढी भएको देखिन्छ । चुनावी एजेन्डा सबै उम्मेदवारका एकै खालका छन् । वाम गठबन्धनका चुनावी एजेन्डा लिखित र कांगे्रस उम्मेदवारका अलिखित छन् ।
वाम गठबन्धन र कांग्रेस उम्मेदवारका एकै खालका एजेन्डाले गर्दा यहाँका स्थानीयवासी कुन उम्मेदवारको केन्द्रमा कति पहुँच छ भनेर हिसाब गर्न थालेका छन् ।
वाम गठबन्धनका उम्मेदवार पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय पुलको रूपमा भेरी–कोरिडोर राजमार्गको विकास गरी भारतको रुपैडिहादेखि तिब्बत जोड्ने, लुम्बिनी बौद्धस्थल, दाङ–नेपालगन्जदेखि कर्णाली रारासम्म पुग्ने मूल ढोकाका रूपमा रहेको चाखुरे सुरुङमार्ग निर्माण गर्ने महत्वाकांक्षीदेखि स्थानीय विकास निर्माणका योजनालार्ई चुनावी मुद्धा बनाएका छन् ।
त्यस्तै, उनले जिल्लाको पर्यटनसँग जोडिएको कुशेमुसे, चाखुरे, ठाकुरजी गाध, नदाइडाप, पदमार्ग निर्माणका साथै ताल संरक्षण भ्यु टावर तथा हिम चिप्लेटीको निर्माणमा जोड दिएका छन् ।
यता, कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार राजीवविक्रम शाह, प्रदेश सभा सदस्य (क)का उम्मेदवार वेदराज सिंह र (ख)का उम्मेदवार दीपकजंग शाहले व्यक्तिगत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छैनन् ।
उनीहरूले भाषणमा विदेश जाने युवालाई रोकेर स्वदेशमै रोजगार सिर्जना गरी जिल्लाको विकास गर्ने, बढ्दो भ्रष्टाचार न्यूनीकरण गर्ने, राष्ट्रियस्तरका आयोजना निर्माणका लागि दबाव दिनेलगायतका चुनावी एजेन्डा उठाएका छन् । प्रदेश सभा (क)का उम्मेदवार वेदराज सिंहले कांग्रेसले केन्दीयस्तरबाट सार्वजनिक गरेको घोषणापत्र नै संवृद्धिको योजना भएकाले छुट्टै बनाउनु नपर्ने बताए ।
वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार शक्तिबहादुर बस्नेतसँगै प्रदेश सभा (क)का उम्मेदवार गणेशप्रसाद सिंह र (ख)का उम्मेदवार करवीर शाहीले साझा एजेन्डा बनाएका छन् । स्थानीयले जाजरकोटको समग्र विकासका लागि चाहिने व्यक्ति खोजिरहेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
वाम गठबन्धनले दुई भागमा चुनावी सभा गर्दै आएको छ भने, कांग्रेसका उम्मेदवारले पनि जिल्लाका दुई ठाउँमा चुवानी सभा गर्दै आएका छन् । स्थानीय तह निर्वाचनको भोटका आधारमा हेर्ने हो भने, वाम गठबन्धन बलियो देखिन्छ ।
दोस्रो संविधानसभा निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र क्षेत्र नम्बर २ बाट कांग्रेसका राजीवविक्रम शाहले जित हासिल गरेका थिए । तर, हाल त्यहाँ एक मात्र प्रतिनिधिसभा कायम भएको छ । सोही क्षेत्रमा दुवैले प्रतिस्पर्धा गर्दै छन् ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।