०७ मंसिर , काठमाडौँ – भूकम्प गएको साढे दुई वर्ष बितिसक्दा पनि दशरथ रंगशाला पुनर्निर्माण कार्य सुरु नै भएको छैन् । पुनर्निर्माणका लागि टेन्डर हुन नसक्दा सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग प्रभावित हुने देखिएको छ ।
सरकारले आवश्यक बजेट विनियोजन गर्दै सागअघि नै पुनर्निर्माण गरिसक्ने जनाएको थियो । अहिले पुनर्निर्माणका लागि रंगशालाको संरचना भत्काउने काम भइरहेको छ । टेन्डरपछि निर्माणका लागि प्रक्रियागत रूपमा समय लाग्ने भएकाले समयमै काम पूरा गर्न कठिन हुने राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर अरुण उपाध्यायले बताए ।
रेट्रोफिटिङको काम पूरा
रंगशालाको साधारण प्याराफिटलगायतका ठाउँमा रेट्रोफिटिङको काम भने सम्पन्न भएको छ । अहिले साधारण र भिआइपी प्याराफिटतर्पm छत भत्काउने काम भइरहेको छ । सरकारले तत्काल खर्च गर्न सात करोड उपलब्ध गराएको थियो । साधारण प्याराफिट भत्काउने जिम्मा भीमेश्वर बिल्डरले पाएको छ । उसले ३५ लाख रुपैयाँमा ठेक्का लिएको छ । भिआइपीतर्फ़ एक करोडभन्दा बढी लगानीमा गिरी कन्स्ट्रक्सनले भत्काउने काम गरिरहेको छ ।
राखेप परिसर र रंगशालाका लागि ५१ करोड
राष्ट्रिय खेलकुद परिषद्को परिसरमा बन्न लागेको कर्मचारी भवन र खेलाडी अस्पताल निर्माणका लागि २५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कर्मचारी भवन र खेलाडी अस्पतालको निर्माण पनि सागअघि नै सम्पन्न भइसक्नुपर्ने हुन्छ । तर, अहिलेसम्म टेन्डर प्रक्रिया बाँकी नै छ । खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले निर्माण हुने भवनको शिलान्यास गरिसकेका छन् ।
समयमै साग चुनौती
रंगशाला निर्माण समयमै सम्पन्न हुनुपर्ने भए पनि सरकारी बेवास्ताका कारण सागलाई आवश्यक पर्ने पूर्वाधार निर्माण पर्याप्त हुनेमा खेलकुदसँग सम्बन्धित संघसंस्थाले आशंका जनाएका छन् । काठमाडौं, पोखरालगायतका सहरलाई विकेन्द्रित गरी साग आयोजना गरिने बताइएको छ । तर, पोखरा रंगशालाका लागि हालै मात्र ग्लोबल टेन्डर आह्वान गरिएको छ । सो रंगशाला १० महिनाभित्र सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएको छ । यस्तै, ओलम्पिक कमिटीको विवाद र राजनीतिक अस्थिरताले पनि रंगशाला पुनर्निर्माणमा समस्या देखिएको छ ।
भौतिक निर्माणका लागि डेढ अर्ब
राष्ट्रिय खेलकुद परिषद्ले आठौँ राष्ट्रिय खेलकुद र १९औँ सागका लागि डेढ अर्ब रुपैयाँ लाग्ने र सोहीअनुसारको बजेट विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गरेको इन्जिनियर उपाध्यायले बताए । नेपालगन्जलगायत आसपासको क्षेत्रमा हुने आठौँ राष्ट्रिय खेलकुदका लागि ६ वटासम्म भौतिक संरचना निर्माण गरिने उनको भनाइ छ । यस्तै, सागका लागि थप ६ वटाजति भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले डेढ अर्बजति लागत आवश्यक भएको उपाध्यायले बताए ।
रंगशालाको क्षमतामा कमी
यसअघि रंगाशालाको क्षमता १८ हजार दर्शक अट्ने थियो । पुनर्निर्माणसँगै दुईदेखि तीन हजार संख्या घट्नेछ । साधारण दर्शक बस्ने प्याराफिटमा कुर्सी राखिएको र छतको भागको पिलरले केही ठाउँ लिने भएपछि यसअघिको क्षमतामा केही कमी आउने इन्जिनियर विश्वमित्र सञ्जेलले जानकारी दिए । यद्यपि, निर्माण पूरै सम्पन्न भएपछि मात्र यकिन विवरण आउने उनको भनाइ छ ।
आवश्यक २२ करोड निकासा सात करोड
रंगशाला निर्माणका लागि २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर, टेन्डर आह्वान गर्न आवश्यक रकमसमेत अर्थ मन्त्रालयले उपलब्ध नगराएको इन्जिनियर अरुण उपाध्यायले बताए । ‘छत र सिटबाहेक नै २१ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौँ ।
अर्थ मन्त्रालयबाट काम गर्दै गर्नुस् भन्नुभएको छ । हामीले पनि काम गरिरहेका छौँ, तर अब टेन्डरका लागि आवश्यक रकम निकासा नभई काम अघि बढ्दैन,’ उनले भने ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।