१० मंसिर , काठमाडौँ – मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकता, पहिला आयोगले दिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ ।
यसरी गरिँदै छ मतपेटिकाको सुरक्षा
गृह मन्त्रालयले मतपेटिकाको सुरक्षालाई केन्द्रमा राखी आइतबार हुने पहिलो चरणको निर्वाचनको सुरक्षा रणनीति बनाएको छ । विकट मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ । मतपेटिकासँगै दलका प्रतिनिधि पनि हुनेछन् । २१ मंसिरको चुनावपछि मात्र मतगणना हुने भएकाले विवादरहित हुने गरी मतपेटिकाको सुरक्षा गर्न गृहले रणनीति बनाएको छ ।
मतदान अधिकृतको नेतृत्वमा प्रहरी, सशस्त्र, सेना र राजनीतिक दलका प्रतिनिधिसहितले मतपेटिका मतगणनास्थलमा ल्याउनेछन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मतगणनास्थल हुनेछन् । ती कार्यालय प्रायः अहिले जिल्ला सदरमुकाममा छन् ।
मतगणनास्थलमा मतपेटिका राखेको कोठालाई सिलबन्दी गरिनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको अलावा राजनीतिक दलका प्रतिनिधिले पनि ताला लगाउनेछन् । ताला लगाएको कोठाको सुरक्षा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको रेखदेख, अनुगमन र निर्देशनअनुसार सुरक्षा व्यवस्था मिलाइनेछ ।
मतगणनास्थलको सुरक्षा सेनाले गर्नेछ । ‘मतपेटिका दलहरूका प्रतिनिधिहरूको रोहबरमै रहने गरी व्यवस्था गरिनेछ,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने । २१ मंसिर साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरु हुनेछ ।
तीनघेरामा चुनावी सुरक्षा
मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी हुनेछन् । बीचमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा सेनाले दिनेछ ।
गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले कुनै पनि स्थानमा १० देखि ३० मिनेटभित्र प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।