०७ पौष , काठमाडौँ – भूकम्पले ध्वस्त ७० विद्यालयको निर्माण कार्य भारतीय अनुदानमा पुनर्निर्माण गरिने भनिएतापनि अझै सुरु हुन सकेको छैन । गत असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका वेला पुनर्निर्माणको सम्झौता भएको हो।
भवन निर्माण गर्ने जिम्मेवारी पाएको शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ स्रोतका अनुसार निर्माण कार्यको प्रगति शून्य छ । सम्झौताअनुसार भारतले कन्सल्ट्यान्ट छनोट गरेर कार्यान्वयन एकाइलाई दिनुपर्ने व्यवस्था छ । नेपालस्थित भारतीय दूतावासले अक्टोबर, नोभेम्बर हुँदै समय सार्दै आएको छ । डिसेम्बर पहिलो साता बितिसक्दा पनि एकाइलाई जानकारी गराइएको छैन ।
भारतले काममा ढिलाइ गरेपछि केन्द्रीय कार्यान्वयन एकाइले आठवटा विद्यालयको सर्भे गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत भारतीय दूतावासमा पेस गरेको छ । भारतको ऋण सहयोगमा २५० विद्यालय बनाउने सम्झौता छ । भारतले काम गर्ने विश्वासमा नेपाल सरकारको रातो किताबमा १३ अर्ब रुपैयाँ उल्लेख गरिएको छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।