सरकारी बजेट वितरण गर्दा एक विद्यार्थीको नाममा १३ हजार ४८९ रुपैयाँ खर्च हुन्छ, तर त्यसका भागीदार विद्यार्थीको नियति यस्तो छ ।
टिनको टहरा, ह्वांगै कोठा । चिसो ढुंगामा बसेर ससाना नानीहरू कापीमा आफ्नो भविष्य कोर्दै छन् । शिक्षाका नाममा वर्षमा सवा खर्ब खर्च गर्ने देशका बालबालिकाको यो नियति देख्ने जोकोहीलाई पनि आश्चर्य लाग्छ ।,समाचार आजको नयापत्रिका बाट लियिएको हो ।
सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलस्थित माटोखानी बालज्योति प्राथमिक विद्यालयमा पाँचदेखि ९ वर्षका ३३ बालबालिका अध्ययनरत छन् । पुस–माघको चिसोमा पनि उनीहरू बगरको ढुंगामा बसेर पढ्न विवश छन् । यहाँ पढ्ने अधिकांश बालबालिका दलित समुदायका छन ।
दिनमा तीन घन्टा पढाइ, शिक्षिकाको तलब २५ सय
दिनमा तीन घन्टा पढाइ हुने माटोखानी बालज्योति प्राथमिक विद्यालयमा ३३ दलित बालबालिका अध्ययनरत छन् । बगरको विद्यालयमा माटो, धुलोसँगै खोलाको स्याँठको सामना गर्दै पढ्दै आइरहेका छन् ।
मासिक २५ सयमा पढाउँदै आएकी शिक्षिका वर्षा विकले भनिन्, ‘पिछडिएका समुदायका बालबालिकाको भविष्यका लागि थोरै रकममा पनि अढाइ वर्षदेखि पढाइरहेकी छु ।’
‘पानी पर्दा बालबालिका भिज्छन्, घाम लाग्दा गर्मीले असिनपसिन हुन्छन् । हावा चल्दा कठ्यांग्रिन्छन् । बिरामी परिरहने हुनाले सबै बालबालिका नियमित विद्यालय आउन सक्दैनन्,’ उनले भनिन्, ‘तर, सरकारी र गैरसरकारी सहयोग कहाँ छ थाहा छैन ।’