०७४ साल नेपालको इतिहासमा एउटा महत्वपूर्ण वर्षका रूपमा हामीबाट बिदा भएको छ । अघिल्लो सालले संविधान कार्यान्वयनलाई गुणात्मक चरणमा विकास गर्दै तीनै तहका निर्वाचन सम्पन्न गरेर देशलाई निर्वाचित जनप्रतिनिधिको हातमा हस्तान्तरण गरेको छ । निर्वाचनसँगै लामो पट्यारलाग्दो संक्रमणकाल अन्त्य भएको छ । स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भएर तीनवटै तहमा सरकार क्रियाशील छ । तीनवटै तहको निर्वाचनमा नेपाली जनताको अभूतपूर्व सहभागिता र जनताले प्रकट गरेको जनादेशलाई यदि मुख्य निष्कर्षका रूपमा लिने हो भने मूल रूपमा त्यसका दुईवटा अर्थ छन् ।
प्रदीप ज्ञवाली
पहिलो, नेपाली जनता राजनीतिक स्थिरता चाहन्छन् र दोस्रो, आर्थिक समृद्धि चाहन्छन् भन्ने तीनवटै तहको निर्वाचनको जनादेशले पुष्टि गरेको छ । अर्थात्, अर्को भाषामा भन्नुपर्दा तीनवटै तहको निर्वाचनको जनादेश मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको पक्षमा छ । यो पृष्ठभूमिमा सरकारले ०७४ सालले खडा गरेको जगमा उभिएर ०७५ साललाई परिणाम दिने वर्षका रूपमा उपयोग गर्ने गरी तयारी गरिरहेको छ । परिणाम जनताले अनुभूति गर्ने गरी बिस्तारै प्रकट हुँदै जानेछ भन्ने सरकार विश्वास दिलाउन चाहन्छ ।
०७५ साल नेपालमा समृद्धिको यात्राको वर्षका रूपमा नयाँ गेयर लागेको वर्षका रूपमा स्थापित हुनेछ । सुरु त हामीले पहिल्यैदेखि गर्दै आएका हौँ, तर स्टार्ट मात्र भइरह्यो, गेयरमा गाडी गुडिसकेको अवस्था थिएन । त्यसैले अब गेयर लागेको गाडी बिस्तारै अघि बढ्नेछ ।
नयाँ सरकार गठन भएको करिब दुई महिना पुग्न लागेको छ । सरकार गठन भएलगत्तै हामीले ५ वटा प्राथमिकता सार्वजनिक गरिसकेका छौँ । पहिलो– राष्ट्रियताको संरक्षण । राष्ट्रियताको संरक्षण भनिरहँदा हाम्रो दिमागमा खास–खास विषय छन् । राष्ट्रिय हित भन्नेबित्तिकै मुलुकको सार्वभौसत्ता, क्षेत्रीय अखण्डता, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमानलाई सुदृढ गर्नु र सर्वोपरी रूपमा राष्ट्रिय हितको संरक्षण गर्नु हो । राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हामीले यो वर्ष अन्तराष्ट्रिय सम्बन्धलाई थप अनुकूल र सुदृढ बनाउनेछौँ । हाम्रा छिमेकीसँगको सम्बन्ध पनि अहिले केही बलियो बन्दै गएको छ । ०७५ सालभित्र छिमेकी मुलुकहरूका तर्फबाट हुने उच्चस्तरका भ्रमणले सम्बन्धलाई अझ अनुकूल र बलियो बनाउनेछ । त्यही अनुकूल सम्बन्धको परिधिभित्र रहेर सरकारले राष्ट्रिय हितलाई अधिकतम रूपमा सम्वद्र्धन गर्नेछ । राष्ट्रिय स्वाभिमानलाई, नेपालको अन्तराष्ट्रिय छविलाई र नेपालको भूमिकालाई अझ प्रभावकारी ढंगले अगाडि लैजानेछ । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमासमेत एउटा स्वाधीन र समृद्धिको यात्रातर्फ अघि बढिरहेको मुलुकका रूपमा आफ्नो उपस्थिति र भूमिकालाई थप प्रभावकारी बनाउनेछ ।
१. राष्ट्रिय हित
२. लोकतन्त्रको सुदृढीकरण
३. सुशासन र भ्रष्टाचार नियन्त्रण
४. आर्थिक विकास र समृद्धि
५. सरकार र जनताबीचको सम्बन्ध
दोस्रो, सरकारको प्राथमिकता लोकतन्त्रको सुदृढीकरण हो । ७० वर्षको लामो संघर्षपछि हामीले लोकतन्त्र स्थापित गरेका छौँ । संविधानमार्फत लोकतान्त्रिक उपलब्धिलाई अधिकारका रूपमा संस्थागत गर्दै अघि बढेका छौँ । अब लोकतन्त्रलाई हामीले जनताको जीवनसँग अनुवाद गर्नुपर्छ । अर्थात्, लोकतन्त्रलाई जीवन संस्कारका रूपमा विकास गर्ने काम गर्न जरुरी छ । ०७५ सालभित्र नयाँ कानुनको निर्माण र संविधानको पूर्ण कार्यान्वयनका लागि कतिपय संरचनाको निर्माण हुनेछन् । राजनीतिक व्यवस्था मात्र होइन, जनताको अवस्था पनि परिवर्तन भयो भन्ने अनुभूति दिलाउने कुरा धेरै महत्वपूर्ण प्राथमिकतामा पर्नेछ ।
तेस्रो, सरकारको प्रथामिकता सुशासन हो । म यहाँहरूमार्फत स्पष्ट पार्न चाहन्छु, यो वर्ष भ्रष्ट्राचारका विरुद्ध सरकारले केही कठोर कदम चाल्नेछ । कुनै पनि आवरणमा भ्रष्ट्राचार र अनियमितताले संरक्षण पाउने छैनन् । भ्रष्ट्राचारीलाई कानुनी कारबाहीको दायारामा ल्याउने काममा सरकार निर्मम ढंगले प्रस्तुत हुनेछ । यस निम्ति सरकारले गहिराइका साथ गृहकार्यसमेत गरिरहेको छ । राज्यलाई तिरेको करको एक÷एक पैसाको सदुपयोग भएको जनताले देख्न पाउनेछन् । सेवाग्राहीहरू सरकारी कार्यालयमा पुग्दा सहज ढंगले सेवा प्राप्त गरेको र केही न केही परिवर्तन भएको जनताले अनुभूति गर्न पाउनेछन् । गलत निर्णय गरेर या निर्णय नै नगरेर, गलत काम गरेर या कामै नगरेर देश र जनतालाई नोक्सान पुर्याउने काम हुन नदिनका निम्ति सरकार कडाइका साथ प्रस्तुत हुनेछ ।
चौथो, सरकारको उच्च प्राथमिकता मुलुकको आर्थिक विकास र समृद्धि रहेको छ । यद्यपि, जतिवेला यो सरकारले जिम्मेवारी सम्हाल्यो, त्यतिवेला देशको आर्थिक अवस्था निकै अप्ठ्यारो अर्थात् जर्जर अवस्थामा थियो । एक किसिमको रोगी अर्थतन्त्र अर्थात् संकटग्रस्त अर्थतन्त्रको विरासत रहेको वेला यो सरकारले मुलुकको जिम्मेवारी सम्हालेको छ । हामीले मुलुकको अर्थतन्त्रको तस्बिर श्वेतपत्रमार्फत सार्वजनिक गर्दै अबका चुनौती र प्राथमिकता निर्धारण गरिसकेका छौँ । निश्चय पनि यस्तो परिप्रेक्ष्यमा तत्काल जनताले अनुभूति गर्ने गरी सरकारले सेवा दिन सक्ने कुरा धेरै नै चुनौतीपूर्ण छ । यद्यपि, हामी समयको एक–एक पल, हाम्रो श्रमको एक/एक थोपा, हाम्रो ऊर्जा, ज्ञान र विवेकको एक÷एक अंश प्रयोग गरेर जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्दै छौँ ।
यो वर्ष केही ठूला पूर्वाधार विकासको काम सरकारले सुरु गर्नेछ । काठमाडौं–तराई जोड्ने ‘फास्ट ट्र्याक’ राजमार्गको काम देखिने गरी अघि बढाउनेछौँ । पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नति गर्ने काम आरम्भ हुनेछ । मध्यपहाडी लोकमार्गका केही खण्ड निर्माणका लागि धेरै महत्वपूर्ण काम गर्नेछौँ । केही ठूला जलविद्युत् परियोजना सम्पन्न हुनेछन् भने केही ठूला जलविद्युत परियोजना निर्माणका काम पनि सुरु हुनेछन् । उत्पादित विद्युत् खेर जान नदिनका लागि ट्रान्समिसन लाइन विस्तारको कामलाई तीव्रता दिइनेछ । यसरी पूर्वाधारका दृष्टिले नयाँ वर्षमा केही ठूला र महत्वाकांक्षी परियोजनामा हामीले हात हाल्नेछौँ ।
निरन्तर समृद्धिको कुरा गर्न थालेको केही वर्ष हुन थालेको छ । त्यसैले अब हाम्रो सम्पूर्ण ध्यान नयाँ रोजगारीको अवसर सिर्जना गर्ने र जनताको जीवनस्तरमा परिवर्तन ल्याउनेतर्फ छ । त्यसकारण सरकारले रोजगारीको अवसर सिर्जना गर्न स्वरोजगारसँग सम्बन्धित केही नयाँ कार्यक्रम अघि सार्नेछ । गाउँ–गाउँसम्म निःशुल्क केही व्यवसायिक र प्राविधिक तालिम पुर्याएर युवालाई सीपयुक्त बनाउने र त्यो सीपलाई प्रयोग गर्न आवश्यक पर्ने साधन, खासगरी आर्थिक स्रोतको जोहो गर्ने गरी केही कामको थालनी गर्नेछौँ । यी काम गर्दा एक वर्षमै देशमा ठूलै चमत्कार भइहाल्छ त भन्न सकिँदैन । तर, अब केही हुँदै छ, अब देश समृद्धितर्फ अघि बढ्यो भन्ने सन्देशका साथ अभियानकै रूपमा सबै क्षेत्रका जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी देशलाई आर्थिक विकास र समृद्धिको यात्रातर्फ अघि बढाउनेछौँ ।
पाचौँ, सरकार र जनताबीचको सम्बन्धलाई हामीले थप निकट बनाउनेछौँ । सरकार आलोचनाभन्दा माथि हुने छैन । सरकारी काममा ढिलासुस्ती भयो, सरकारले प्राथमिकताका क्षेत्रमा जति ध्यान दिनुपर्ने हो, त्यति दिन सकेन भने जनताले खुलस्त ढंगले सरकारको आलोचना गर्दै सुझाब दिन सक्ने अवस्था सिर्जना गर्नेछौँ । हामी जनताका ती सबै आलोचना र सुझाबलाई शिरोधार्य गर्दै सरकारको कामलाई अझ प्रभावकारी बनाउँछौँ । साथै, सरकारको कार्यशैलीलाई पनि अझ छरितो बनाउनेछौँ । यसरी विभिन्न माध्यमबाट जनतासँगको सम्बन्धलाई हामी बलियो र प्रभावकारी बनाउनेछौँ ।
यसरी हेर्दा ०७५ साल नेपालमा समृद्धिको यात्राको वर्षका रूपमा नयाँ गेयर लागेको वर्षका रूपमा स्थापित हुनेछ । सुरु त हामीले पहिल्यैदेखि गर्दै आएका हौँ, तर स्टार्ट मात्र भइरह्यो, गेयरमा गाडी गुडिसकेको अवस्था थिएन । त्यसैले अब गेयर लागेको गाडी बिस्तारै अघि बढ्नेछ । ०७५ साल आर्थिक समृद्धिको गाडीमा गेयर लागेको वर्षका रूपमा स्थापित हुनेछ । गाडीको गति क्रमशः तीव्र बनाउँदै ‘हामी सुःखी नेपाली : समृद्ध नेपालको सपना साकार’ हुने गरी नेपाललाई समृद्ध मुलुकका रूपमा रूपान्तर गरिछाड्नेछौँ ।ह
(शुरोजंग पाण्डेसँगको संवादमा आधारित ।)
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।