भौगोलिक दृष्टिकोणले प्रदेश नम्बर २ सबैभन्दा सुगम छ । यहाँका आठओटै जिल्लालाई पूर्वपश्चिम राजमार्गले छोएको छ । रेलमार्गबाट भारतमा जोडिएको एक मात्र प्रदेश पनि २ नम्बर नै हो । सबैभन्दा ठूलो औद्योगिक करिडोर, आधुनिक एकीकृत भन्सार जाँच चौकी (आइसिपी), प्रमुख भन्सार नाका, उर्वर भूमि, सडक तथा विमानस्थललगायत पूर्वाधारको उपलब्धता आदि दुई नम्बर प्रदेशका विशेषता हुन् ।
तर, यतिका धेरै सम्भावना भएको प्रदेश सामाजिक तथा मानवीय विकासको सूचकांकमा भने पछि परेको देखिन्छ । सबैभन्दा बढी गरिबी, न्यून साक्षरता, कम प्रतिव्यक्ति आयलगायत तथ्यांकले दुई नम्बर प्रदेशलाई पछि परेको देखाएको छ । दुई नम्बर प्रदेशलाई सम्भावना भएरै पनि पछि परेको प्रदेशका रूपमा देखिएको पूर्वअर्थसचिव शान्तराज सुवेदी बताउँछन् ।
जनसंख्या अवस्था
मुलुकको कुल जनसंख्याको २०.४० प्रतिशत मानिस प्रदेश नम्बर २ मा बसोवास गर्छन् । यहाँको कुल जनसंख्या ५४ लाख ४ हजार १५४ रहेको छ । जसमध्ये महिलाको संख्या २६ लाख ८६ हजार २०७ र पुरुषको संख्या २७ लाख १७ हजार ९३८ रहेको छ । यस प्रदेशको एक मात्र वीरगन्ज महानगर क्षेत्रफलको हिसाबले देशकै सबभन्दा ठूलो महानगरपालिका हो । जहाँ ४ लाख २ हजार ९९५ व्यक्ति बसोवास गर्छन् ।
त्यस्तै, नगरपालिकामा बस्ने जनसंख्या १० लाख ४२ हजार ११ र गाउँपालिकामा बसोवास गर्नेको संख्या ९ लाख ३२ हजार ३४८ छ । संस्थागत रूपमा बसोवास गर्नेको संख्या २६ हजार ४०३ छ । प्रदेश नम्बर ४ मा कुल ५ लाख ७७ हजार ६८२ घरधुरी छन् । त्यसमध्ये महानगरमा १ लाख ५ हजार ६३० वटा, नगरपालिकामा २ लाख ५५ हजार ६२२ र गाउँपालिकामा २ लाख १६ हजार ४३० घरधुरी छन् । त्यसबाहेक संस्थागत घरधुरी संख्या पनि ५३७ छ ।
खानेपानी उपलब्धता र स्रोत
प्रदेश नम्बर २ मा रहेका कुल ९ लाख ३२ हजार ८७ घरधुरीमध्ये ९७ हजार ४७२ घरधुरीको खानेपानीको मुख्य स्रोत पाइपबाट आएको पानी हो । त्यस्तै, ७ लाख ६२ हजार ९९ घरधुरी ट्युबेल वा ह्यान्डपम्प प्रयोग गर्छन् ।
प्रदेश नम्बर २ का ४ हजार ४ सय ८७ ले व्यवस्थित गरिएको कुवा र ३७ हजार ५४२ घरघुरीले अव्यवस्थित कुवाको पानी प्रयोग गर्छन् । त्यस्तै, २ हजार ५ सय ७८ घरधुरीले खोलाको पानी प्रयोग गर्छन् भने ३ हजार ७ सय ३५ले मुहानबाट सोझै प्रयोग गर्छन् । यसबाहेक यस प्रदेशका १३ हजार ४७८ घरधुरीले भने अन्य स्रोत प्रयोग गर्छन् ।
उज्यालोको स्रोत
प्रदेश नम्बर २ मा उज्यालोका लागि विद्युत्, मट्टीतेल (टुकी), सोलार र बायोग्यासको प्रयोग हुँदै आएको छ । यहाँका कुल ९ लाख ३२ हजार घरधुरीमध्ये ५ लाख ५६ हजार ३४२ घरधुरीले उज्यालोका लागि विद्युत्को प्रयोग गर्ने गरेका छन् ।
त्यस्तै, ३ लाख ४८ हजार २३२ घरधुरीले मट्टीतेल (टुकी), १ हजार ९ सय ८५ घरधुरीले बायोग्यास र १२ हजार २३४ घरधुरीले सौर्य ऊर्जाको प्रयोग गर्ने गरेका छन् । यस प्रदेशका २ हजार २०६ घरधुरीले उज्यालोका लागि अन्य स्रोतको प्रयोग गर्छन् भने ११ हजार ८८ घरधुरीको उज्यालोको स्रोत उल्लेख गरिएको छैन ।
तथ्यांकमा प्रदेश नं. २
महानगरः १ (वीरगञ्ज महानगर)
उपमहानगरः ३ वटा
नगरपालिका : ७३ वटा
गाउपालिका : ५९ वटा
स्थानीय तह : १३६ वटा
जम्मा वडा : १ हजार २ सय ७१ वटा
अस्थायी राजधानी : जनकपुर
शौचालयको अवस्था
प्रदेश नम्बर २ का ६ लाख ७८ हजार घरधुरीमा चर्पी छैन । यहाँका १ लाख ५० हजार ७ सय घरधुरीमा फ्लस भएको ट्वाइलेट छ । त्यस्तै, ९२ हजार २ सय घरधुरीले साधारण चर्पी प्रयोग गर्छन् । तर, ११ हजार घरधुरीले भने चर्पीका बारेमा जानकारी गराएनन् ।
जात र जनजाति संख्या
प्रदेश नम्बर २ मा १ सय १७ प्रकारका जात र जनजातिको बसोवास छ । यस प्रदेशमा यादव, मुसलमान र थारूको बाहुल्य छ । प्रदेश नम्बर २ मा यादवको जनसंख्या ७ लाख ९८ हजार ७ सय ७०, थारूको जनसंख्या २ लाख ८४ हजार ४ सय ९८ र मुस्लिमको जनसंख्या ६ लाख २५ हजार ७ सय रहेको छ ।
यस प्रदेशमा तेली, चमार/हरिजन/राम र कोइरी/कुशवाहहरूको संख्या पनि धेरैे छ । यहाँ २ लाख ७५ हजार २ सय ४ तेली, २ लाख २७ हजार ३ सय ९५ चमर/हरिजन/राम र २ लाख ४६ हजार ३ सय २८ कोइरी तथा कुशवाहहरू रहेका छन् ।
त्यस्तै, ब्राह्मणको जनसंख्या १ लाख २७ हजार २ सय, क्षेत्रीको १ लाख १० हजार २ सय ५०, तामाङ १ लाख १७ हजार ४ सय ५४, कुर्मी १ लाख ५२ हजार ९ सय ६२, धानुक १ लाख ८८ हजार २ सय, मुसहर १ लाख ६२ हजार ८ सय र १ लाख ५० हजार ६ सय पासवान तथा दुसध छन् ।
साक्षरताको अवस्था
प्रदेश नम्बर २ मा साक्षरताको अवस्था कमजोर छ । तथ्यांक विभागका अनुसार २ नम्बर प्रदेशको समग्र साक्षरता दर ४९.५४ प्रतिशत छ । यो दर सातैओटा प्रदेशमध्येमै सबैभन्दा कम हो । त्यसमध्ये पुरुष साक्षरता दर ६० दशमलव ०९ रहेको छ भने महिला साक्षरता दर ३८ दशमलव ८८ प्रतिशत रहेको छ ।
यस प्रदेशमा रहेका पाँच वर्षभन्दा माथिको कुल २४ लाख २८ हजार १ सय जनसंख्यामध्ये १० लाख ८९ हजारले प्राथमिक तह अध्ययन गरेका छन् । त्यस्तै, निम्नमाध्यमिक तहको अध्ययन गर्ने ४ लाख ८५ हजार, माध्यमिक तहको अध्ययन गर्ने २ लाख ६७ हजार, एसएलसी उत्तीर्ण गर्ने २ लाख २८ हजार, १२ कक्षा पढ्ने १ लाख ४२ हजार, स्नातक तह अध्ययन गर्ने ६२ हजार र स्नातकोत्तर अध्ययन गर्ने १४ हजार छन् ।
स्वास्थ्य संस्था
प्रदेश नम्बर २ मा कुल ९ सय ९१ स्वास्थ्य संस्था छन् । यसमा उपस्वास्थ्य चौकीदेखि ठूला अस्पताल र मेडिकल कलेजसमेत पर्छन् । यस प्रदेशमा १ सय ६९ निजी तथा गैरसरकारी स्वास्थ्य संस्था छन् । त्यस्तै, सरकारी स्वास्थ्य संस्थाहरू ८ सय २२ छन् । यस प्रदेशमा जानकी र नेसनल गरी दुई मेडिकल कलेज सञ्चालनमा छन् ।
सडक पहुँच
प्रदेश नम्बर २ मा कुल ८ हजार ७५ किलोमिटर सडक (स्थानीय र रणनीतिक गरी) रहेको छ । जसमध्ये १ हजार ५ सय ९३ किलोमिटर कालोपत्रे, ३ हजार १ सय ३५ ग्राभेल र ३ हजार ३ सय ९८ किलोमिटर कच्ची सडक रहेको छ । यस प्रदेशमा ५ हजार ६ सय ९५ किलोमिटर स्थानीय सडक रहेको छ ।
जसमा ८२ किलोमिटर कालोपत्रे, २ हजार ७ सय ८० किलोमिटर ग्राभेल र २ हजार ८ सय ३३ किलोमिटर कच्ची सडक रहेको छ । त्यस्तै, यस प्रदेशमा कुल रणनीतिक सडक २ हजार ३ सय ८० किलोमिटर रहेको छ ।
जसमध्ये १ हजार ५ सय ११ किलोमिटर कालोपत्रे, ३ सय २ किलोमिटर ग्राभेल र ५ सय ६५ किलोमिटर कच्ची सडक रहेको छ । बाह्रै महिना चल्ने सडक १ हजार ८ सय १४ किलोमिटर रहेको छ ।
हुलाकी राजमार्ग
तराई–मधेसको ‘लाइफ लाइन’ मानिएको हुलाकी राजमार्गले प्रदेश नम्बर २ का आठवटै जिल्लालाई छुन्छ । तर, हुलाकी राजमार्गको थालनी भएको सात दशक पूरा हुँदासमेत आयोजना अधुरै छ । हाल प्रदेश नम्बर २ मा पर्ने गरी जनकपुर–भिट्टामोड, बाराको सिम्रौनगढ– तामागढी र भानुभक्त–मटहरिया, सप्तरीको राजविराज–पुनहौलीलगायत ठाउँमा सडक निर्माण भइरहेको छ ।
हुलाकी लोकमार्ग आयोजनाले तराई क्षेत्रका जिल्लामा सडक निर्माण/स्तरोन्नति गरी यातायात प्रणाली सुदृढीकरण गर्नेछ । त्यसमार्फत् शिक्षा, स्वास्थ्यमा जनताको पहुँच पु-याई कृषि, व्यापार, उद्योग र पर्यटनको विकास हुने विश्वास छ ।
बैंकको उपस्थिति
प्रदेश नम्बर २ मा रहेका कुल १ सय ३६ स्थानीय तहमध्ये ६३ वटामा वाणिज्य बैंकका शाखा पुगेका छन् । बाँकी ७३ स्थानीय तहमा भने आगामी असारसम्ममा वाणिज्य बैंकका शाखा पु¥याउन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिइसकेको छ । खासगरी यस प्रदेशका सहरी क्षेत्रमा भने सबै वर्गका वित्तीय संस्थाको उपस्थिति बाक्लो छ ।
औद्योगिक करिडोर
विसं १९८० देखि १९९० को दशकमा स्थापना भएका नेपाल सिग्रेट फ्याक्ट्री, जुद्ध म्याट फ्याक्ट्रीलगायत उद्योगसँगै बारा–पर्सा औद्योगिक करिडोरको विकास सुरु भएको हो । हाल यस करिडोरमा साना–ठूला सबै गरी १ हजार २ सयको हाराहारीमा उद्योग रहेको र तिनमा करिब १ लाखले प्रत्यक्ष रोजगारी पाएको टेमानीको अनुमान छ । तर, सरकारले अझै पनि औपचारिक रूपमा औद्योगिक करिडोर घोषणा गरेको छैन ।
रेलमार्गबाट भारतसँग जोडिएको एक मात्र प्रदेश २ नम्बर नै हो । सबैभन्दा ठूलो औद्योगिक करिडोर, आधुनिक एकीकृत भन्सार जाँचचौकी (आइसिपी), प्रमुख भन्सार नाका, उर्वर भूमि, सडक तथा विमानस्थललगायत पूर्वाधारको उपलब्धतालगायत दुई नम्बर प्रदेशका विशेषता हुन् ।
औद्योगिक क्षेत्र
प्रदेश नम्बर २मा एउटा औद्योगिक क्षेत्र रहेको छ । राजविराजमा रहेको प्रदेशकै एक मात्र औद्यागिक क्षेत्र गजेन्द्रनारायण औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । हाल उक्त औद्योगिक क्षेत्रमा एउटा मात्रै उद्योग सञ्चालनमा छ, ४ वटा निर्माणधीन छन् । यहाँ २८ जनाले रोजगारी पाएका छन् । २ सय ९४ रोपनीमा फैलिएको यस औद्योगिक क्षेत्रमा निजी क्षेत्रको १२ करोड ८३ लाख लगानी र सरकारको ४ करोड रुपैयाँ लगानी छ ।
विशेष आर्थिक क्षेत्र
प्रदेश नम्बर २ मा चारवटा विशेष आर्थिक क्षेत्र (सेज) प्रस्ताव गरिएको छ । यसमध्ये सिमरा विशेष आर्थिक क्षेत्र निर्माणको चरणमा छ । त्यस्तै, सिमरामा निर्माणाधीन सेजपरिसरमै गार्मेन्ट प्रोसेसिङ जोन (जिपिजी) पनि स्थापना भइरहेको छ । यसको पनि निर्माण कार्य जारी छ । धनुषा, रौतहट र सिराह सेजका लागि सम्भाव्यता अध्ययन जारी छ ।
विमानस्थल
प्रदेश नम्बर २ मा सिमरा, जनकपुर र राजविराज विमानस्थल रहेको छ । सिमरा र जनकपुर नियमित सञ्चालनमा छन् । राजविराज विमानस्थलको स्तरोन्नति भइरहेको छ । निकट भविष्यमै सञ्चालनमा आउने सरकारले जनाएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
मुलुकको समग्र अर्थतन्त्रमै महत्वपूर्ण योगदान दिन सक्ने भनिएको प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रदेश नम्बर २ मा पर्छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन २०१०मै बनेको हो । अहिले नेपाली सेनाले त्यहाँको साइड क्लियरेन्स (वन फँडानीलगायतको काम) गरिरहेको छ । सरकारले तीन महिनाभित्रै वातावरणीय प्रभाव मूल्यांकन (इआएई) स्वीकृत गराउने, निर्माणको मोडालिटी तयार गर्ने र पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
फास्ट ट्रयाक
काठमाडौं र तराई मेधेसलाई जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक)को केही भाग दुई नम्बर प्रदेशमा पर्दछ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक तथा रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको फास्ट ट्र्याकको ७६.२ किलोमिटरमध्ये ७.६ किलोमिटर भाग बारा जिल्लामा पर्छ ।
नेपाली सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र निर्माण कार्यलाई सँगसँगै अघि बढाइरहेको छ । ४ वर्षभित्र निर्माण सम्पन्न हुने अनुमान गरिएको फास्ट ट्र्याकले काठमडौं र मधेसलाई नजिक बनाउनुका साथै प्रदेश नम्बर २ र मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान दिनेछ ।
व्यापार र राजस्वको केन्द्र
प्रदेश नम्बर २ मा रहेको वीरगन्जलाई मुलुकको आर्थिक राजधानीसमेत भन्ने गरिन्छ । नेपालमा आयात हुने करिब ३५ प्रतिशत वस्तु वीरगन्ज नाका भएर भित्रिन्छ । कुल भन्सार राजस्वमध्ये ३३ प्रतिशत राजस्व वीरगन्ज नाकाबाट उठ्छ । वीरगन्जमा नेपालकै पहिलो एकीकृत भन्सार जाँच चौकी (आइसिपी) समेत रहेको छ । त्यस्तै, वीरगन्ज सुक्खा बन्दरगाहमा पनि सञ्चालनमा छ ।
पर्यटन क्षेत्र
प्रदेश नम्बर २ पर्यटन विकासका हिसाबले महत्वपूर्ण रहेको छ । सीताको जन्मभूमि मिथिला यही प्रदेशमा पर्छ । खासगरी हिन्दू धर्मावलम्बीका लागि जनकपुरधाम महत्वपूर्ण गन्तव्य रहेको छ । त्यस्तै, गढिमाई, सिमरौनगढ, धनुषाधाम, सिरहाको सलहेस, सर्लाहीको नाढिमन, सप्तरीको छिन्नमस्ता, हवामई मन्दिरलगायत क्षेत्र पनि धार्मिक पर्यटनका लागि चर्चित छन् ।
प्राकृतिक पर्यटनका लागि पनि प्रदेश दुईमा राम्रो सम्भावना रहेको छ । पर्सा वन्यजन्तु आरक्षण केन्द्र यही प्रदेशमा पर्छ । त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जको केही क्षेत्र प्रदेश नम्बर २ मा पर्दछ । जातीय तथा धार्मिक विविधता रहेको यस प्रदेशमा सांस्कृतिक पर्यटनको सम्भावना अधिक रहेको छ ।
कृषि मुख्य सम्भावना
मुलुकको आर्थिक वृद्धिको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव राख्ने उत्पादन धान हो । धान उत्पादनले मुलुकको आर्थिक वृद्धिलाई प्रभाव पार्ने गर्छ । प्रदेश नम्बर २ धान उत्पादनका लागि महत्वपूर्ण क्षेत्र हो । मुलुकको कुल धान उत्पादनमा प्रदेश नम्बर दुईको हिस्सा २० प्रतिशत रहेको छ ।
ऊखुबाली तथा चिनी उत्पादनका लागि पनि प्रदेश नम्बर २ अगाडि छ । यहाँ मुलुकको सबैभन्दा ठूलामध्येमा पर्ने इन्दुशंकर, एभरेस्ट, श्रीराम सुगर मिल, अन्नपूर्ण र हिमालय सुगर मिल रहेका छन् । सरकारी स्वामित्वको वीरगन्ज चिनी कारखना बन्द अवस्थामा रहेको छ ।
उर्वर भूमि, सिँचाइको सुविधा, बजारको पहुँच र जनशक्तिको उपलब्धताकै कारण यस प्रदेशको कृषिमा अधिक सम्भावना छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।