नयाँ वर्ष मनाउन आएका पर्यटकले लमजुङका होमस्टे भरिभराउ
शान्ता कमली/नयाँ पत्रिका लमजुङ, २ वैशाख | ०२ मिनेट अगाडि
होमस्टे सञ्चालन भएका लमजुङका पर्यटकीय गाउँहरू पर्यटकले भरिएका छन् । नयाँ वर्ष मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले गाउँका होमस्टे भरिएका हुन् ।
काउलेपानीमा वाससमेत पाएनन्
नेपालकै उत्कृष्ट मानिएको गाउँसहरको काउलेपानी होमस्टे भरिएपछि कतिपय पर्यटक अन्यत्र गएका छन् । ‘गाउँका सबै होमस्टे घर पर्यटकले भरिएका छन् । नयाँ वर्ष मनाउनका लागि समूह–समूह बनेर आइरहेका छन्, सबै भरिएका छन्,’ काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, ‘कुनै घर पनि खाली छैन, हामीलाई भ्याईनभ्याई भएको छ ।’ उनका अनुसार ३ सय २० जना आन्तरिक पर्यटकले होमस्टेमा नयाँ वर्ष मनाएका छन् । राति वास बस्न नपाउनेहरू बिहान मात्रै आएका थिए । काउलेपानीमा कुल १४ घरमा मात्रै होमस्टे सञ्चालन गरिएको छ । ‘राति वास बस्न नपाउनेहरू बिहान मात्रै आएका छन्,’ उनले भने, ‘नयाँ वर्षको दिनमा पाँच सयभन्दा बढी पर्यटक गाउँ भित्रिएका छन् ।’
घलेगाउँमा आन्तरिक र बाह्य पर्यटकको भिड
सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटकीय घलेगाउँमा नयाँ वर्षको पहिलो दिन बाह्य तथा आन्तरिक पर्यटकको भिड लागेको छ । नयाँ वर्षको पहिलो दिन नै ३ सय ५० भन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताए । उनले आएका पर्यटकलाई गाउँमा ठाउँ नपुगेर छिमेकी गाउँहरूमा पठाएको बताए । ‘पर्यटकले सबै होमस्टे भरिए, गाउँमा आएका सबै पर्यटकलाई राख्न सकिएन,’ घलेले भने । केही पर्यटकलाई भुजुङ, घनपोखरातिर पठाएको उनको भनाइ छ ।
उनले दुई दिनका लागि गाउँका सबै होमस्टे प्याक भएको बताए । घलेगाउँमा ३२ घरमा होमस्टे सञ्चालनमा छ ।
वर्षभरि पर्यटक बढ्ने आशा
गाउँमा पर्यटकको चाप बढेर भ्याईनभ्याई भएपछि गाउँले खुसी भएका छन् । वर्षको सुरुवातमै पर्यटकको चहलपहल बढेपछि वर्षभरि पर्यटक बढ्ने स्थानीयले आशा गरेका छन् । पर्यटकीय गाउँहरूमा कृषिसँगै पर्यटन नै मुख्य पेसा रहेको छ । पर्यटकको स्वागत–सत्कार गरेर नै स्थानीयले मनग्य आम्दानी गर्ने गरेका छन् । दैनिक पर्यटकको चहलपहल हुने यी गाउँहरूमा नयाँ वर्षको अवसरमा थप पर्यटक आएका हुन् । नयाँ वर्षको दिन शनिबार परेकाले पर्यटकको चाप बढेको हो ।
यसकारण होमस्टेमा बढ्दै छ आकर्षण
अहिले लमजुङका गाउँ–गाउँमा खुलेका होमस्टेमा पर्यटकको आकर्षण बढेको छ । गाउँमा स्थानीय परिकार, कला–संस्कृति, प्राकृतिक सौन्दर्य र स्वागत–सत्कारले पर्यटक लोभिएका हुन् । घुमफिरमा आन्तरिक पर्यटकले गाउँ नै रोज्न थालेपछि गाउँमा आकर्षण ह्वात्तै बढेको हो । घलेगाउँँबाट सुरु भएको सामूहिक एकता अहिले अन्य गुरुङ गाउँमा पनि फैलिएको छ । समूह–समूह हुँदै पछिल्लो समय स्थानीयले गाउँमा पर्यटन प्रवद्र्धन गर्न–गराउन छुट्टै समितिसमेत स्थापना गरेका छन् । अहिले लमजुङका प्रायः गुरुङगाउँमा पर्यटन समिति भनेर छुट्टै गठन गरिएको छ ।
२०५७ सालमा पहिलोपटक महोत्सव आयोजना गर्न सफल घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समय अन्य समुदायका गाउँहरूसम्म पुगेको छ । घलेगाउँ, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनास मोहोरियाकोट हुँदै पछिल्लो समय तार्कु पुरानकोट, गाउँसहर, इलमपोखरी, नाल्मा, छापा, मिप्रा, भुस्मे, तुर्लुङकोट लगायत गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ । कला, संस्कार, संस्कृति र रहनसहनसँगै लमजुङका विभिन्न ठाउँको दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक आकर्षित भएको होमस्टे सञ्चालकले बताएका छन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गाउँ पर्यटकीय छन् । ग्रामीण पर्यटनको अवधारणाको सुरुवात गुरुङगाउँबाट भएको हो । ती ठाउँका बासिन्दा पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक आकर्षण गरेका छन् । डा. हर्क पिक, लमजुङ, अन्नपूर्ण र मनास्लु हिमाललाई छर्लंग नियाल्न सकिने ठाउँ भएकाले गाउँहरूबाट मस्र्याङ्दी, खुदी, मिदिमलगायत नदीनाला देखिन्छन् ।
होटेल छाडेर होमस्टेमा बास
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले लमजुङमा आउने पर्यटक पछिल्लो समय होटेलमा नबसी होमस्टेमा बस्ने गरेको बताए । गाउँमा बस्नुको मजा बेग्लै हुने भएकाले पर्यटकले सहरको कोलाहलभन्दा गाउँको सामान्य जीवनशैली मन पराउने गरेका हुन् । उनले भने, ‘गाउँमा बस्न जाने र त्यहाँका लोकल परिकार खान मन पराउनेहरूको जमात बढ्दो छ । होमस्टेको न्यानो आतिथ्य, गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातयातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेमा पुग्ने गरेका छन् ।
वास बस्ने पर्यटक बढे
विगतका वर्षहरूमा होमस्टे गाउँ घुमेर फर्कने पर्यटक बढी थिए भने यस वर्ष होमस्टेमा नै बसेर नयाँ वर्ष मनाउनेको संख्या बढेको होमस्टे सञ्चालकहरू बताउँछन् । काउलेपानी होमस्टे सञ्चालक तिलमायाँ गुरुङले पहिले होमस्टे घुमेर पर्यटक फर्कने गरेकोमा यो वर्ष वास बस्ने पर्यटक बढेको बताइन् ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।