धनवीर दाहाल, रुकुम
पुथाउत्तरगंगा गाउँपालिका वडा नं १ र २ का लागि दशैंतिहारभन्दा पनि ठूलो पर्वका रूपमा लिइन्छ यार्सा सिजन। अर्थात् जेठ महिना ती वडाका स्थानीयका लागि सबैभन्दा ठूलो चाड पर्व नै हो। स्थानीय भाषामा जीवनबुटीको नामले चिनिने यार्सागुम्बा स्थानीयहरुको जीवन धान्ने बुटी नै बनेको छ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका र भुमे गाउँपालिकाका स्थानीयहरु बढी मात्रामा यार्सा टिप्न व्यस्त हुन्छन्। पुथाउत्तरगंगा गाउँपालिकाको रन्मामैकोटलगायतका उच्च हिमाली भेगमा यार्सागुम्बा पाइन्छ।
मजदुरीका लागि भारत गएर वर्षभरि दुःख गरेर ज्यान पाल्न धौधौ भए पनि २ महिना यार्सा टिप्दा धेरै सजिलो हुने भएपछि मजदुरीको पहिलो रोजाइ यार्सा टिप्न जानु नै बनेको छ।
छोटो समयमै बढी आम्दानी हुने भएकाले मानिसहरुको आर्कषण यार्सा टिप्नुमा नै बढी देखिन्छ। सो क्षेत्रका स्थानीय बासिन्दाले प्रतिव्यक्ति ५० हजारदेखि ५ लाखसम्म आम्दानी गर्ने गर्दछन्। जिल्ला वन कार्यालयबाट पुर्जी काटेर बुकी गएका स्थानीयहरु सोही ठाउँमा नै यार्सा बिक्री गर्ने गर्दछन्। एक किलो यार्सा संकलन गर्ने व्यापारीले जिल्ला वन कार्यालयमा २५ हजार राजश्व तिर्नपर्ने हुन्छ भने यार्सा व्यवस्थापन समितिलाई पनि छुट्टै रकम तिर्नुपर्दछ। यार्सालाई प्रतिगोटा ५ सयदेखि १ हजारको दरले बिक्री गरेको स्थानीयको अनुभव छ।
यसै गरी यसपालिको यार्सा सिजन समितिले पहिलेको सिजनको तुलनामा नयाँ ढंगले र नयाँ मूल्यमान्यताको आधारमा काम गर्ने जनाएको छ। पहिलेको जस्तो अनियन्त्रित खर्च र अव्यवस्थित समिति नहुने अध्यक्ष अमरधन पुनले बताए। उनले सिजन अवधिभर जेजति काम हुन्छ, त्यस बापत आवश्यक भत्ता दिने नीति लिएको र वाहियात खर्चलाई कटौटी गरिएको बताए। अहिलेको सिजन समितिले यार्सा सिजनको इतिहासमै नमुना योग्य काम गरेर देखाउने र आगामी दिनमा सम्झिन लायकको काम गर्ने दाबी गरे। यार्सा सिजन अवधिभर मदिरा पूर्णतः बन्द गरिएको र अवैधानिक रूपमा बेचबिखन गरेकालाई कारबाही गरिने बताए।
त्यस्तै अवैध रूपमा यार्सा क्षेत्रमा प्रवेश गरेका १ जनालाई पनि सिजन समितिको नीतिअनुसार कारबाही गरिनेछ। अवैध रूपमा यार्सा खरिद बिक्रीमाथि पूर्णतया बन्द गरिएको र यदि यो बीचमा कसैले चोरी तरीकाले खरिद गर्छ भने त्यसलाई कडा कारबाही गरिने प्रतिवद्धता पनि उनले जनाए। सिजनमा अधिकांश युवाहरु यार्सा नखोजी तासजुवा खेल्ने र लाखौंको ऋण बोकेर घर फर्किने वातावरणको सदाका लागि अन्त्य गरिएको उनले बताए। अध्यक्ष पुनले भने “सयौं युवा , समिति र विज्ञहरु नै विगतका दिनमा तासजुवामा चुर्लुम्म डुबेर खत्तम भएको र वर्षैंसम्म त्यसको मारमा सिंगो परिवार ऋणमा डुबेकाले अब २ पैसा भए पनि कमाउन भन्ने सोँचका साथ यो जुवातास पूर्णतः बन्द गरिएको र यसले नकारात्मक कामको सदाको लागि अन्त्य हुने कुरामा हामी आशावादी छौं।’ उनका अनुसार क्यासिनो खोल्न दिने विगतका प्रावधानले यसपालि कुनै स्थान पाउने छैन। ठूलो करको लोभले सयौंको जीवन बर्बाद हुने अवैध खेलहरु सबै बन्द गरिनेछ। यसले विशुद्ध यार्सा संकलन र खरिद गर्ने व्यक्ति भिœयाउन मद्दत पुग्ने विश्वास समितिले गरेको छ।
यसै गरी आपराधिक गिरोहहरुलाई कुनै पनि हालतमा भित्र्न नसक्ने अध्यक्ष पुनको दावी छ। यार्सा उम्रने ठाउँमा मान्छे बस्ने, खाने र फोहोर फाल्ने जस्ता गतिविधिले पनि त्यसको उत्पादन घटेको स्थानीयको भनाइ छ । यार्सा पाइने ठाउँमा मान्छेहरू टेन्ट लगाएर बस्ने गर्दछन्। उनीहरूले खाना पकाउनेदेखि अन्य फोहोर वस्तु पनि जथाभावी फाल्दा त्यसको असर यार्सा उत्पादनमा परेको छ । यार्सा टिप्न वा संकलन गर्न जाँदा दैनिक उपभोग्य सामग्री बोक्ने घोडा, खच्चडका कारण पनि उत्पादनमा बर्सेनि गिरावट आइरहेको भनाइ स्थानीयको छ ।
गतवर्ष जथाभावी बस्दा त्यसको असर बुकी र यार्सा उत्पादनमा परेको भन्दै मानिसलाई सीमित ठाउँमा मात्रै बसालिएको थियो । हरेक वर्ष ९ करोडदेखि १० करोड रूपियाँसम्म कारोबार हुने यार्साको राजस्व भने न्युन मात्रै सरकारसमक्ष आइपुग्छ । गत वर्ष ९ करोड जतिको यार्साको कारोबार भएको हुन सक्ने अनुमान तत्कालीन सिजन व्यवस्थापन समितिले गरेको थियो । सुरक्षा दृष्टिकोणले कसले, कति यार्सा संकलन र्गयो भनेर बाहिर आउँदैन । कसले कति यार्चा टिप्यो र को व्यापारीले कति यार्चा संकलन ग¥यो भन्ने खुल्न नसक्ने भएकाले यकिन तथ्यांक आउन नसके पनि सामान्यतया अनुमान लगाउन सकिने समितिले जनाएको छ।
यता रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले भने सो नगरपालिको स्यालाखदीमा पाइने यार्सागुम्जा ३ वर्षसम्म टिप्न नपाइने जनाएको छ। आठबिसकोट नगरपालिकाको स्यालाखदीमा पाइने यार्सागुम्बा ३ वर्षका लागि संकलन बन्द गरिएको स्थानीय कर्णबहादुर ऐरीले बताए। हरेक वर्ष संकलन गर्दा लोप हुने भएकोले ३ बर्षपछि मात्र टिप्ने व्यवस्था गरिएको बताइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।