भक्तपुर, (नेस) । नेपाल कोरिया मैत्री अस्पतालको नवौ बार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले कार्यक्रममा नेपालको स्वास्थ्य सेवाको अबस्था प्रशंसा योग्य रहेको बताउनु भयो ।
मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित अस्पतालको नवौ बार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले स्थानीय बासिन्दालाई मात्रै नभई देशभरका जनतालाई सेवा दिनसक्ने गरि अस्पतालले क्षमता विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अस्पतालले नेपाल र कोरिया बिचको दुईदेशीय सम्बन्धलाई विस्तार एवं प्रगाढ बनाउँन भूमिका निर्वाह गर्नुसक्नु पर्नेमा जोड दिदै उहाँले सरकारले ल्याएको स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँन सके राज्यको आर्थिक विकासलाई समेत टेवा दिने बताउनुभयो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पताललाई आगामी पाँचवर्ष भित्र ५०० शैयाको देश कै नमूनाको अस्पताल बनाउँने अठोट नगरपालिकाले लिएको बताउँदै यसका लागि सबै मिलेर सहयोगात्मक भावनाले अगाडि जानु पर्ने बताउनुभयो ।
त्यसअवसरमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. ज्ञानकृष्ण कायस्थले अस्पतालले हाडजोर्नी, प्रसुती, जनरलदेखि अधिकांश स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सक राखेर सेवा विस्तार गर्दै आएको बताउँदै यो अस्पतालले देशभरका विरामीलाई सस्तो र सुलभ रुपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
त्यसअवसरमा ३ नं. प्रदेशका प्रदेशसभा सदस्यद्धय राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ ,मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली काँग्रेसका युवा नेता अष्टकुमार कवें, अस्पताल व्यबस्थापन समितिका सदस्य हरिदास प्रजापति लगायतले अस्पताललाई अब विशेषज्ञ अस्पतालको रुपमा विकास गर्दै लैजानेमा जोड दिनुभयो । अस्पतालको नवौ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने ५६ जना रक्तदातालाई कदरपत्र प्रदान गरिएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।