नेपाल समाचारपत्र, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ स्थित भोर्लेटारमा प्रहरीको नागरिक सुनुवाई गरिएको छ । इशानेश्वर क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको प्रहरीको नागरिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले प्रहरी र नागरिकविच हातेमालो र सहकार्य आवश्यक रहेको औल्याएका छन ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले उहिलेको जस्तो अहिलेको समयमा प्रहरीसँग डराउन नपर्ने भन्दै प्रहरी र नागरिकविचको सम्बन्ध प्रगाढ बन्नुपर्ने बताउनु भयो । उहाँले गुनासालाई सम्बोधनका क्रममा जिल्लास्तर तथा स्थानीय तहबाट कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा सहभागीले विकास निर्माण छिटो र पारदर्शी रुपमा अघि बढ्न नसकेको गुनासो गरे । सो अवसरमा सहभागीहरूले बजार अनुगमन बढाउनुको साथै बाहिरबाट आउने सामग्रीको चेकजाँच, लागुऔषध दुब्र्यसनको रोकथाम, मदिरा विक्रिवितरण र घरेलु हिंसाको रोकथाममा प्रहरीले सक्रियता बढाउन सुझाव दिए ।
नगरपालिका क्षेत्रमा शान्ति सुरक्षाका लागि प्रहरीको संख्या बढाउनुपर्ने, प्रत्येक वडामा प्रहरी परिचालन गर्नुपर्ने, ट्राफिक चेकजाँचको साथै सवारी साधनमा जेष्ठ नागरिक, अपाङ्ग र विद्यार्थीलाई दिइएको छुटको पालना भए नभएको चेकजाँच गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी हुन आएका नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, महिला सञ्जाल, उद्योगी ब्यवसायी, शिक्षक, आमा समहका प्रतिनिधिहरुले शान्ति सुरक्षा कायम गर्दै प्रहरीको कार्यमा सहयोग गर्न आफुँहरु तयार रहेको बताएका थिए ।
कार्यक्रममा समापन मन्तव्यका क्रममा प्रहरी नायव उपरीक्षक यादव ढकालले जिल्ला प्रहरी कार्यालय लमजुङले गरेका शान्ति सुरक्षा र अनुसन्धानबारे जानकारी गराउँदै जिल्लामा सामाजिक विकृति र लैंगिक हिंसा बढ्दै गएकाले त्यसको रोकथामका लागि नागरिकहरुको सहयोग चाहिने बताउनु भयो । उहाँले प्रहरी र नागरिकविचको सम्बन्धलाई प्रगाढ बनाउन हरेक तीन÷तीन महिनामा नागरिक सुनुवाई कार्यक्रम गर्ने गरिएको बताउनु भयो ।
मध्यनेपाल नगरपालिका– ६ का वडाअध्यक्ष विष्णुभक्त पौडेलको अध्यक्षतमा गरिएको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक जयराम वन्तले गर्नु भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।