नेपाल समाचारपत्र, काठमाडौं । दुर्लभ जन्तु हिउँ चितुवा पाइने मुलुकका मन्त्री र अन्य सरकारी अधिकारी संलग्न ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम’ (जीएलएसईपी) को बैठक भोलि विहीवारदेखि किर्गिस्तानमा शुरु हुँदैछ ।
प्राकृतिक वासस्थानमा हिउँ चितुवाको संख्या पहिचानका लागि गणना विधि बनाउने, एक अर्को मुलुक वीच समन्वय र हातेमालो बढाउने एजेण्डाका साथ तेस्रो बैठक तय भएको हो । गत वर्ष काठमाडौंमा सम्पन्न दोस्रो बैठक पश्चात नेपाल जीएलएसईपीको अध्यक्ष राष्ट्र बनेको छ । सोही आधारमा बैठकको अध्यक्षता नेपालले गर्ने भएको छ ।
दुई दिने बैठकमा सहभागी हुन वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतको नेतृत्वमा मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकाल लगायतको टोली मंगलबार किर्गिस्तान प्रस्थान गरेको छ । यस अघि हिउँ चितुवा पाइने विभिन्न १२ मुलुकले आ–आफ्ना मुलुकका विभिन्न स्थानलाई समेटेर २३ वटा भू–परिधी क्षेत्र पहिचान गरिसकेका छन् ।
नेपाल सहित अफगानिस्तान, भुटान, चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजाकिस्तान, उज्वेकिस्तानमा हिँऊ चितुवाको चहल–पहल हुने गरेको छ । तेस्रो बैठकले संरक्षणमा भइरहेका प्रयास, अनुभव आदान–प्रदान, बढ्दो हिउँ चितुवा–मानव द्धन्द्ध न्यूनिकरण, बासस्थान र आहारा व्यवस्थापन, अवैध चोरी शिकारी नियन्त्रण र संरक्षणमा भावी रणनीति तय गर्ने बताइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।