नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको तेस्रो अधिवेशनमा आर्थिक बर्ष २०७५÷०७६ का लागि १६ बुँदे विषयगत नीतिमा १९१ बुँदे कार्यक्रम प्रस्ताव गर्नुभयो ।
सभाका कुल सदस्यको ९३ प्रतिशत सदस्य सहभागी, उक्त अवसरमा प्रमुख शाक्यले प्रस्तुत गर्नुभएको नीतिमा समुदायको सीप तथा क्षमता विकासदेखि सहरी समृद्धि, सहरी सेवा सुविधा वितरणमा सन्तुलन, शुशासन, पारदर्शिता, पहुँचयुक्ततादेखि प्रदेश सरकार, संघ सरकारसँग मिलेर सम्पादन गर्ने काम तथा अन्तरराष्ट्रिय सम्बन्धबाट महानगरीय गौरव बढाउने काम समेटिएका छन् ।
महानगरलाई जीवन्त सांस्कृतिक सहरका रुपमा विकास गर्न तथा यसको गौरवलाई उच्च बनाउन लोककल्याणकारी अवधारणा र संविधानले परिकल्पना गरेको शासनमा नागरिकको पहुँचजस्ता सूचकका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको जनाउँदै सभामा प्रमुख शाक्यले सामाजिक न्यायको सिद्धान्त र भ्रष्टाचारमुक्त विधिको शासन प्रवर्धन गर्ने गरी कार्यक्रम प्रस्ताव गरिएको बताउनुभयो ।
स्थानीय नागरिकको जीवन स्तर उकास्न परम्परागत ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, भौतिक तथा सामाजिक उत्थानको योजना बनाउँदा वातावरणीय पक्षलाई विशेष ध्यान दिने, महानगरको निर्माणमा समुदाय, सहकारी, गैर सरकारी तथा निजी क्षेत्रको सहभागिता र साझेदारितालाई प्रश्रय दिने वहु लगानीका सम्भावना बढाउने नीति तथा कार्यक्रमका प्राथमिकतामा समेटिएका छन् ।
महानगरबासीका चाहनालाई आत्मसात् गर्दै हरेक बर्ष कुनै न कुनै विकासका नयाँ अवधारणा अघि सार्ने नीतिमा उल्लेख छ । त्यस्तै आउँदो बर्षलाई पूर्वाधार विकास बर्ष मानेर काम गर्ने, रानी पोखरी, धरहरा, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदाको पुननिर्माण महानगरको मुख्यालय पुननिर्माण कार्य, सार्वजनिक पूर्वाधार निर्माणमा गुणस्तरीयता अघिवृद्धि तथा प्रदुषण नियन्त्रण कार्यलाई नीतिले विशेष कार्यक्रमका रुपमा अघि सारेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।