रोशन पराजुली, हेटौंडा
सभा, समारोह, गोष्ठी, व्यापार, व्यवसायसँग सम्बन्धित कार्यक्रमहरुमा प्लाष्टिकको ब्यानर प्रयोग हुन थालेको र यसको वातावरणमैत्री व्यवस्थापन हुन नसकेको अवस्थामा वातावरणमा पर्नसक्ने नकारात्मक प्रभावलाई ध्यानमा राखी हेटौंडा उपमहानगरले विशेष योजनाको तयारी गर्ने बताए पनि त्यसो हुन सकेको छैन ।
पोलिथिन झोला र प्लाष्टिक कपलाई निरुत्साहन गर्ने योजना हाल सेलाएको छ । यही अवस्थामा प्रदेश–३ ले नै आगामी आर्थिक वर्षमा प्लाष्टिकमुक्त शहर बनाउने लक्ष्य राखेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताउनुभएको हो ।
हेटौंडा उपमहानगरपालिकाले नगरपालिका कार्यालयमा कामका लागि जाने सेवाग्राहीलाई प्लास्टिक झोलासहित प्रवेशमा रोक लगाउन थालेको थियो । उपमहानगरपालिकाले प्लाष्टिक झोलामा प्रतिवन्ध लगाउने संकल्प गरेकाले यस्तो कार्य थालिएको थियो । प्लाष्टिकलाई नियन्त्रणमात्र गर्नसके फोहोरमा धेरै नियन्त्रण हुने भएकाले यस्तो कार्यलाई ‘कडाइका साथ’ लागु गरिएको थियो ।
हेटौंडा नगरपालिकाले देशमा पहिलोपटक नगरलाई ‘प्लाष्टिक झोलामुक्त क्षेत्र’ घोषणा गरेको थियो । प्लाष्टिक झोलाले वातावरण प्रदुषण गरेकाले केही युवाले ‘पर्दैन, मसँग आफ्नै झोला छ’ भन्ने अभियान पनि चलाए । युवाले प्लाष्टिक झोलाविरुद्ध हस्ताक्षर पनि बटुलेका थिए ।
हाल हेटौंडा मुख्य बजारमा प्लाष्टिक झोला बोकेर हिँडेका मान्छे भेटिन्छन् ।
नगरपालिकाले निगरानी कम गर्दा प्लाष्टिक झोला उपभोग बढ्दै गएको हो । प्लाष्टिक प्रयोग पुरानै अवस्थामा फर्किए पनि नगरपालिकाले यसबारे बजार अनुगमन गरेको छैन । प्लाष्टिक झोलामा सामान दिने र बोक्ने बानी परेका व्यापारी तथा उपभोक्तालाई परेको प्रभाव हाल मत्थर भएको छ ।
प्लाष्टिक झोलाको उपयुक्त विकल्प अभावले दुवै पक्ष समस्यामा परेका हुन् । उपभोक्ता घरबाट झोला बोकेर जान अभ्यस्त नभएकाले पनि समस्या बढेको हो ।
प्लाष्टिक प्रयोग नगर्ने बानीले सर्वसाधारण उपभोक्ताको स्वास्थ्यलाई फाइदा गर्छ । प्लाष्टिक नकुहिने रासायनिक वस्तु भएकाले यसले वातावरणलाई निकै प्रदुषित बनाउँछ । जसको असर आमउपभोक्तालाई परिरहेको छ ।
प्लाष्टिकजन्य फोहोर जलाउँदा निस्किने विषाक्त ग्यासले क्यान्सरलगायत रोग लाग्ने, प्लाष्टिक झोलाले माटोको उर्वराशक्ति घटाउने, जमीनमा पानी रिचार्ज हुन नदिने, नाला तथा ढल जाम गरी मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै शहरी सौन्दर्य पनि घटाउने भएकाले यसको प्रयोगमा प्रतिवन्ध लगाउने नीति नगरपालिकाको भए पनि आमउपभोक्ता यसमा सचेत र जिम्मेवार बन्न सकेका छैनन् । यहाँ संकलन हुने फोहोरमा करिब २५ प्रतिशत प्लाष्टिक झोला हुन्छन् ।
उपभोक्ता सचेत नबन्दा प्लाष्टिक झोलामा सामान दिनुपरेको व्यापारी गुनासो गर्छन् । धेरै उपभोक्ता भने सामान किनिसकेपछि पसलले नै वैकल्पिक झोला दिनुपर्ने मानसिकतामा भेटिन्छन् ।
हेटौंडालाई ‘प्लाष्टिकमुक्त’ घोषणा गरिए पनि व्यवहारमा लागु नभएको र प्लाष्टिक झोलाका कारणले नराम्रो प्रभाव परेको भन्दै प्लाष्टिक झोला नियन्त्रणका लागि नयाँ उपाय सुझाइएको छ । जनसरोकार केन्द्र मकवानपुरले सुझाव दिएको हो ।
जनसरोकार केन्द्र मकवानपुर संयोजक अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले पसलमा सामान खरिद गर्न ग्राहकले झोला आफैं लिएर आए झोला बराबरको रकम ग्राहकलाई छुट वा फिर्ता दिने र झोला आफैं ल्याउन ग्राहकलाई प्रोत्साहित गर्न व्यापारीलाई अनुरोध गर्नुभएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।