नेपाल समाचारपत्र, काभ्रे
प्रदेश सरकारले जिल्लाको विकट गाउँपालिका महाभारतलाई विशेष अनुदान उपलब्ध गराएको छ । स्थानीय तहको पुनसंरचनाको समयमा जिल्लाको महाभारत र खानिखोला गाउँपालिकालाई संविधान अनुसार विशेष क्षेत्र घोषणा गर्न सिफारिस गरिएको थियो ।
संविधानले गरेको ब्यवस्था अनुसार जिल्लाका दुई गाउँपालिका महाभारत र खानिखोलालाई विशेष संरक्षित क्षेत्रका रुपमा अगाडी बढाउने गरी मापदण्ड भन्दा कम भएकै अवस्थामा गाउँपालिका घोषणा गरिएको थियो । गाउँपालिका भए पछिको दोश्रो बजेट र प्रदेश सरकारको पहिलो बजेटले महाभारत गाउँपालिकालाई दुर्गम र अविकसित भएको भन्दै विशेष अनुदान उपलब्ध गराएर विकसित गराउने नीति लिएको छ । हरेक जिल्लामा एउटा एउटा गाउँपालिकालाई प्रदेश सरकारलाई विशेष अनुदान उपलब्ध गराएको छ ।
जिल्लाको हकमा महाभारत विशेष अनुदान पाउने भाग्यमानी गाउँपालिका भएको छ । खानिखोला गाउँपालिका यो अनुदान पाउन बञ्चित भयो । विशेष अनुदानमा गाउँपालिकाले विकासका लागि मात्रै ५ करोड रकम थप प्राप्त गरेको छ । नियमित तर्फ विभिन्न शिर्षकमा प्रदेश सरकारले उपलब्ध गराएको ७ करोड ७४ लाख रकम मध्ये ५ करोड चाँहि विकासका लागि हो ।
प्रदेश सरकारको पहिलो बजेटले महाभारत गाउँपालिकालाई दुर्गम र अविकसित भएको भन्दै विशेष अनुदान उपलब्ध गराएर विकसित गराउने नीति लिएको छ ।
तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जिल्लाका प्रतिनिधि सभाका सांसदहरु गंगाबहादुर दोङ्ग, गोकुल बास्कोटा, प्रदेश सभाका सांसदहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, गोमा भुर्तेल लगायतको टोलीलाई हेलिकप्टरबाट महाभारत गाउँपालिका पु¥याएर अध्यक्ष कान्छालाल जिम्बाले महाभारतका समस्या र समाधानका लागि ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्ड सहित जिल्लाका सांसदहरुले जिम्बाको ज्ञापनपत्र सम्बोधन गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । प्रदेश नम्वर ३ को सभामा समेत जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, जिल्लाका १३ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरुको टिमले पनि जिल्लाका विकट गाउँपालिकाहरुलाई विशेष क्षेत्र र अनुदानको माग गरेको थियो । इलाका प्रशासन कार्यालयको काम समेत शुरु गरेको महाभारत गाउँपालिकाले फ्रि वाईफाई सेवा मार्फत नागरिकता वितरण थालेको छ ।
सडक सञ्जालमा सदरमुकाम जोडिन ७ किलोमिटर बाँकी रहेको महाभारत गाउँपालिकाले चालु वर्षको झण्डै २ करोड र आगामी वर्ष त्यति नै रकम विनियोजन गरी पहरै पहरा रहेको वीचको सडक जोड्ने तयारी गरेको छ । गाउँपालिका आफैले खरिद गरेको स्काभेटर र जेसिभी मार्फत लगातार पहरा फुटाउन शुरु गरिएको छ ।
दुबै तर्फबाट खन्न शुरु गरिएको सडकको मुल ट्रयाक खोलेपछि मात्रै महाभारतसँग सदरमुकामको कनेक्सन जोडिनेछ । मोवाईलको समेत समस्या भएको महाभारतमा वाईफाईसँगै सोलारले विकासमा गति थपिदिएको अध्यक्ष कान्छालालले बताए । चालु वर्षको बजेटबाट बाँकी रहेको काम आगामी वर्षको बजेटबाट समेट्दै सडकलाई पहिलो प्राथमिकतामा राख्ने तयारी गरिएको अध्यक्ष कान्छालालले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।